नेपाली कांग्रेस विराटनगर महानगर समितिले आज विराटनगरमा आयोजना गरेको ‘समसामयिक आर्थिक अवस्था र नेपाली राजनीति’ विषयक अन्तरक्रियामा बोल्ने अर्थविद्हरुले अघिल्लो निर्वाचनमा कोइराला पराजित हुनु देश र जनताका लागि नै ठूलो क्षति भएको विचार प्रकट गरे । अन्तरक्रियामा सहभागी हुन विराटनगर आएका कांग्रेस युवा नेता एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले विगतमा डा. शेखर कोइरालाले निर्वाचन हारेर ठूलो राजनीतिक दुर्घटना भएको बताए । “डा शेखरले २०७४ मा निर्वाचन जितेको भए अहिले राष्ट्रिय राजनीतिको परिस्थिति अर्कै हुने थियो,” वाग्लेले भने, “उहाँले जित्नु भएको भए मोरङ क्षेत्र नम्बर ६ को विकास आजको अवस्थामा हुने थिएन । धेरै नै अगाडि बढिसकेको हुने थियो ।”
कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले शेखर कोइराला केही गर्न सक्ने इच्छाशक्ति भएको नेता भएको बताए । राजनीतिभित्रको विकृति हटाउन पनि डा. शेखरको भूमिका जरुरी रहेको उनले बताए । पोखरेलले पार्टी र देशका लागि नै कोइरालाको जित आवश्यक रहेको औंल्याए । पोखरेलले भने, “शेखर कोइरालामा मुलुक बनाउने स्पष्ट भिजन र दृष्टिकोण रहेको मैले पाएको छु ।”
नेपाल सरकारका पूर्वमुख्यसचिव डा. विमल कोइरालाले डा. शेखर कोइरालासँग मुलुकको भविष्य जोडिएको बताए । “देश बनाउन महाभारतको कृष्ण आउँदैनन्, शेखरहरुले नै मुलुक बनाउने हो,” उनले भने, “यदि उहाँलाई विगतकै निर्वाचनमा जिताएर पठाएको भए अर्कै परिस्थिति सिर्जना भइसकेको हुने थियो । किन भने उहाँमा सबैलाई मिलाएर लाने क्षमता मैले पाएको छु ।”
कार्यक्रममा नेता कोइरालाले पनि आफ्ना विचार राखेका थिए । उनले निर्वाचनमा चनाखो हुन कार्यकर्तालाई निर्देशनसमेत दिए । सो अवसरमा कांग्रेस नेता रमेशजंग रायमाझी, महानगर सभापति दीपक चापागाईंलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया