खबर पूर्वाञ्चल
आज सर्वाेच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको इजलासले रिटको सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको हो ।
कार्कीले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिइ उम्मेदवारी दिएको भन्दै विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गठबन्धनका तर्फबाट उपमेयरको जसपाका अमरेन्द्रकुमार यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिएका थिए ।
रिटमाथिको सुनुवाईमा रिट निवेदकतर्फका कानून व्यवसायीले मुद्दा संवेदनशिल रहेकोले अन्तरिम आदेश जारी गरेर कार्कीको उम्मेदवारी खारेज गर्न माग गरेका थिए । कार्कीले निर्वाचन आयोगको तोकेको कानून उल्लंघन गरेर उम्मेदवारी दर्ता गरेको र उम्मेदवारी सदर गराउन किर्ते कागजात तयार गरेको पुष्टि भएकोले निर्वाचनमा उनको उम्मेदवारी कायम हुनु मतदातामाथि नै अन्याय हुने उनीहरुको भनाइ थियो ।
कार्कीतर्फका कानून व्यवसायीले भने अहिले अन्तरिम आदेश दिएर उम्मेदवारी खारेज गर्दा अन्तिम निर्णयको बेला फरक फैसला आउने अवस्था आयो भने के गर्ने भन्ने प्रश्न उठाउँदै रिटको औचित्य नरहेको जिकिर गरेका थिए ।
आज रिट निवेदक अमरेन्द्र यादवको तर्फबाट वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु पेशल न्यौपानेसहितले बहस गरेका थिए भने कार्कीको तर्फबाट वरिष्ठ अधिवक्ता शुशिलकुमार पन्त, महेशकुमार नेपालसहितले बहस गरेका थिए ।