खबर पूर्वाञ्चल
नवीनतम व्यावसायिक ज्ञान तथा सीपको प्रर्दशन र प्रर्वद्धनको लक्ष्य सहित बिहीबार विराटनगरस्थित उद्योग संंगठन मोरङ परिसरमा एक दिने हाटबजार आयोजना गरिएको हो ।
‘मेरो देश, मेरै उत्पादन’ को साझा लक्ष्यलाई समेत सघाउ पुग्ने गरि आयोजित हाटबजारमा प्रदेश १ का विभिन्न जिल्लाका उद्यमीहरुले स्टल राखेर आ–आफ्नो उत्पादन प्रर्दशन गरे । नवउद्यमीहरुलाई बजारसँग जोडेर उनीहरुलाई बजारको स्थिति, उपभोक्ताको पहिचान तथा आफ्ना उत्पादनमा थप सुधार गर्नुपर्ने पक्षकाबारेमा अवगत गराउन हाटबजारको आयोजना गरिएको स्टार्टअप एण्ड इनोभेसन समितिका संयोजक सुरेन्द्र गोल्छाले बताए।
उद्योग संगठनले छनौटमा परेका विभिन्न जिल्लाका उद्यमीहरुलाई प्रत्यक्ष रुपमा बजारसँग जोडिदिने प्रयास स्वरुप पहिलोपटक हाटबजारको आयोजना गरेको थियो । हाटबजारमा मौरीपालन, माछापालन, जडिबुटी तथा अर्गानिक उत्पादनका साथै प्रविधि जन्यवस्तु तथा सेवाका स्टलहरु राखिएको थियो ।
बजारमा उपभोक्ताको माग र रुचिबारे जानकारी लिन तथा उपभोक्ताहरुसँग प्रत्यक्ष रुपमा जोडिन स्र्टाटअप उद्यमी हाटबजारले महत्वपुर्ण भुमिका खेलेको सहभागी उद्यमीहरुले बताएका छन् ।