AArya
RUMPUM
animated ellipse animated ellipse

करडौं घोटला गरेको आरोपमा सप्तकोशी बैंकका सिइओ पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ पुष २०७८, बुधबार १९:२७
6.44k
Shares
विराटनगर / १५ करोड भन्दा बढी रकम घोटला गरेको आरोपमा सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) नविन सुवेदी पक्राउ परेका छन् । बैंकको रेमिटेन्सको १५ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा सिइओ सुवेदीलाई आज साँझ मोरङ प्रहरीले पक्राउ गरेको हो ।

बैंकबाट गायब रकममध्ये अधिकांश रकम प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा जम्मा भएको पाइएपछि उनी पक्राउ परेका हुन् ।

धनकुटा प्रधान कार्यालय भएको सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालय विराटनगरमा छ । त्यही कर्पोरेट कार्यालयबाट रेमिट्यान्सको १५ करोड ७० लाख रुपैयाँ हिनामिना भएको खुलेको थियो । यति ठूलो रकम पछिल्लो ६ वर्षयता हिनामिना हुँदा बैंक बेखबर जस्तै देखिनु र प्रमुख कार्यकारी अधिकृतकै आफन्तको खातामा अधिकांश पैसा ‘ट्रान्सफर’ भएको देखिनुले यो प्रकरणमा सिइओलगायतका उच्च अधिकारीहरु शंकाको घेरामा परेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । ‘घटनाको अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको छ,’, मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भने ।

बैंकको रेमिट शाखाबाट भएको यो हिनामिनामा बबिता सुवेदीको नाममा मात्रै १४ करोडभन्दा बढी रकम ‘ट्रान्सफर’ भएको नेपाल राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । बबिता सिइओ नविन सुवेदीकी नातेदार हु्न् । उजुरीका अनुसार सन् २०१६ देखि २०२१ अगष्ट २ तारिखसम्ममा बबिताको नाममा रहेको प्राइम बैंकको खाता नं ९९९००००१५००१५ बाट १४ करोड गैरकानुनी ढंगबाट निकालिएको छ ।

बविताको नाममा फर्जी खाता सिईओ सुवेदी र हाल प्रहरी नियन्त्रणमा रहेका रेमिट शाखा प्रमुख हिमाल भट्टराईले बनाएको आरोप लागेको छ । रेमिट शाखाका प्रमुख भट्टराई पनि सिइओ सुवेदीका नातेदार हुन् । भट्टराई उनका फुपुका छोरा हुन् ।

हिनामिना भएको रकममध्ये धेरै वविताको खातामा र हिमाल भट्टराईको विभिन्न पाँच वटा बैंकको खातामा एक करोड रुपैंया जम्मा भएको राष्ट्र बैंकमा परेको उजुरीमा उल्लेख छ । यसैगरी सिइओ सुवेदीकी भाउजू भगवती सुवेदी, सालो साजन पोखरेल जेठी सासु बानी पोखरेललगायतको खातामा रकम पठाएको दावी उजुरीमा गरिएको छ । ‘उक्त खाता पनि अरु नै व्यक्तिबाट संचालन गरी कारोबार भएकोले सुक्ष्म अनुसन्धान गरिनुपर्ने देखिन्छ,’ उजुरीमा भनिएको छ ।

पछिल्लो ६ वर्षयता फर्जी कारोबारको कागजात बनाएर रेमिट्यान्सको यति ठूलो रकम हिनामिना भएको हो । यही प्रकरणमा बैंकको कर्पोरेट कार्यालयका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई जिल्ला प्रहरी मोरङले नियन्त्रणमा लिएर यसबारे अनुसन्धान गरिरहेको छ ।

प्रदेश १ को ७ जिल्लामा ३६ वटा शाखा कार्यालय रहेको सप्तकोशी बैंकको ४ अर्ब ३० करोड रुपैयाँ निक्षेप छ । साविकको काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा गएर हाल सप्तकोशी डेभलपमेन्ट बैंक लि. नामबाट बित्तीय कारोबार गरिरहेको यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘ख’ वर्गको बित्तीय संस्था हो । बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष अर्जुन बरालले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर