खबर पूर्वाञ्चल
आइतबार राती दोहोरो हानाहानका क्रममा खुकुरी प्रहारबाट धनकुटा पाख्रिबास–४ घर भइ इटहरी उपमहानगरपालिका–१३ खनारमा डेरा गरेर बस्ने २६ वर्षीय रिजन दाहालको मृत्यु भएको हो । आँखामा टर्च लाईट बालेको निहुँमा बढेको बादविवाद दोहोरो हानाहानमा पुगेको थियो ।
दोहोरो हानहानपछि घाइते भएका दाहाललाई सुरुमा स्थानीय स्वास्थ्य चौकी, त्यसपछि खनार लगेरपछि मात्रै उपचारका लागि विराट टिचिङ अस्पतालमा ल्याइएको थियो । दाहाललाई चिकित्सकले राती नै मृत घोषणा गरेका थिए ।
बढीगंगा ६ का नानु लिम्बूको भतिजीको जन्मदिन मनाउन रिजन आइतबार राती घर गएका थिए । नानु र रिजन साथी हुन् । बर्थ डेको पार्टीमा आएर मदिरा सेवन गरेका दुई युवा समूहबीच विवाद भएको हो । बुढीगंगा – ६ का २३ वर्षीय धने भनिने धनबहादुर तामाङ, २४ वर्षीय ईश्वर भनिने लिखमान लिम्बू र सुनसरीको इटहरी–११ का २२ वर्षीय राजु तामाङ लगायत छ÷सात जनाको समूहसँग दाहालको विवाद भएको थियो । विवाद बढदै गएपछि रिजनलाई लिएर बुढीगंगा ६ का डम्बरबाहदुर लिम्बुको बारीमा लगेर आक्रमण गरेका थिए । उनीमाथि धनबहादुरसहित सात जनाको समूहले खुकुरी हानेको प्रहरीको भनाइ छ ।
टाउँकोमा खुकुरी प्रहार गरिएपछि गम्भीर घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।
शव पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ । घटना छुट्याउन गएका नानु लिम्बु र कमल थापा पनि घाइते भएका छन् । लिम्बुको दाँया हातमा चोटपटक लागेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता श्रेष्ठका अनुसार अर्काे समूहमा रहेकामध्ये धनबहादुर भन्नेसँग दाहालको कार्तिक २७ गते सामान्य विवाद भएको थियो । आँखामा टर्चको लाइट पारेको भन्दै भनाभन भएको प्रहरीले बताएको छ ।
तर, भोलिपल्ट आयोजित बर्थडे पार्टीमा यी दुवै समूह एकै स्थानमा भेला भएका थिए । पार्टीस्थल र घटनाभएको स्थान एक किलोमिटर दुरीमा पर्दछ । घटनामा सामान्य घाइते थापा र लिम्बुलाई उपचारपछि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।
बाँकी अर्काे समूहका सातजनाको खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक दाहालका आफन्तलाई धनकुटाबाट झिकाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।