खबर पूर्वाञ्चल
झापा विर्तामोडका मृतक टुंगबहादुर बस्नेतको नाममा रहेको जग्गा ठगी गर्ने उद्देश्यले नक्कली टुंगबहादुर बस्नेत खडा गरी उनको नाममा रहेको जग्गा ठगी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा झापा बाह्रदशी–३ का ३९ वर्षीय मंगल सिंह राजवंशी, झापा भद्रपुर ७ का ५२ वर्षीय नवीन कोइराला, झापा बाह्रदशी ५ का ५० वर्षीय लिलाधर राजवंशी, झापा गौरीगंज १ का ३७ वर्षीय बलराम बिश्वकर्मा, झापा शिबसताक्षी ८ का ४२ वर्षीय भुपदेव कटुवाल रहेका छन् । यस्तै झापा अर्जुनधारा ५ का ५३ वर्षीय लेखनाथ खनाल, झापा विर्तामोड ४ का ३४ वर्षीय गोविन्द वान्तवा, विर्तामोड १० का ७१ वर्षीय देवीप्रसाद पाण्डे, विर्तामोड ४ की ३३ वर्षीय रञ्जु राई र मोरङ उर्लाबारी ४ का ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।
यो समूहले झापा विर्तामोड १ स्थित अदुवा पुलबाट १ सय मिटर पश्चिममा पूर्व–पश्चिम राजमार्गमा जोडिएको मृतक बस्नेतको नाममा रहेको कित्ता नम्बर ४१८३ को १ कठ्ठा १३।७५ धुर क्षेत्रफलको जग्गा ठगी गरेको थियो ।
जग्गा ठगी गर्नको लागि देवीप्रसाद पाण्डेलाई नक्कली टुंगबहादुर बस्नेत खडा गरेर उनको नक्कली नागरिकता समेत बनाएका थिए । उक्त नागरिकताको आधारमा २०७७ साल असोज २८ गते काठमाडौं जिल्ला अदालतबाट झापा बाह्रदशी ३ घर भई हाल विर्तामोड २ चैतुवारी बस्ने मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा समेत बनाएका थिए । त्यही वारेशनामा मार्फत झापा विर्तामोड ४ की रञ्जु राईको नाममा मिति २०७७ साल माघ २१ गते राजिनामा पास गरेको घटनाको विषयमा इलाका प्रहरी कार्यालय अनारमनी झापामा उजुरी परेको थियो ।
उजुरी परेसँगै १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घटनामा संलग्न रहेका मध्ये १० जनालाई पक्राउ गरि सार्वजनिक गर्न सफल भएको हो ।
यस ठगी धन्दामा अन्य सरकारी निकायका प्रतिनिधीहरुको समेतको संलग्नता तथा पहिचान भई फरार रहेको बताइएको छ । उनीहरूको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेकाहरुको विरुद्धमा ठगी, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।