पूर्वाञ्चल खबर
नेकपा प्रचण्ड– नेपाल समूहका सांसदले आज विहान प्रदेश १ प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेका छन् । अविश्वासको प्रस्तावको प्रस्तापक निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो छन् । समर्थक तेह्रथुमका सांसद लक्ष्मण तिवारी छन् । प्रस्तावमा ३७ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड–माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको एक नेताले बताए । आफू समर्थक सांसदहरु आउँदै गरेको र एकैपटक भेला हुन नपाएको कारण सो संख्यामा हस्ताक्षर संकलन भएको अविश्वास प्रस्तावको पक्षले जनाएको छ । यो संख्या थपिने सो पक्षले जनाएको छ । नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वको टोली संसद सचिवालय पुगेको हो ।
प्रदेश १ को प्रदेशसभा ९३ सदस्यीय रहेको छ । तत्कालीन नेकपा एमालेबाट संसदीय दलको नेता चयन हुँदा मुख्यमन्त्री राईले २६ मत प्राप्त गरेका थिए । आफ्नो समूहमा स्पष्ट खुलेका २० जना सांसद रहेपनि मुख्यमन्त्री राईले नेपाल गुटको नेतृत्व गरेका भीम आचार्यलाई २ मतले हराउँन नेपाल गुटकै सांसदहरूको साथ पाएका थिए ।
अहिले प्रदेश १ मा तत्कालिन एमालेतर्फका ५१ र माओवादी तर्फका १६ जना गरी संसदीय दलमा सांसदको संख्या ६७ छ । केन्द्रमा पार्टी फुटको औपचारिसक संघारमा पुगिसक्दा नेकपाको अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री राईसँग बढीमा २० जना सांसदको साथ रहने अनुमान गरिएको छ ।
प्रदेशमा बहुमतका लागि ४७ सदस्य आवश्यक पर्छ । प्रदेशमा २१ सदस्य रहेको काँग्रेस र पाँच सदस्य रहेका साना तीन दल छन् ।