RUMPUM
animated ellipse animated ellipse

नेवारी संस्कृति र चाडपर्वसँग सम्बन्धित पुस्तक विमोचन

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ पुष २०७७, बुधबार १६:४१
450
Shares
विराटनगर / योमरी पुन्हिको अवसरमा नेपाल भाषा तथा सांस्कृतिक संघ झी पुचः विराटनगरले नेवारी संस्कृतिसँग सम्बन्धित पुस्तक विमोचन र सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगरमा आज आयोजित कार्यक्रममा गणेश ब्रजाचार्यको लेखन तथा सम्पादनमा प्रकाशित ‘नेवारी संस्कृति तथा चाडपर्वहरू’ नामक पुस्तकको विमोचन गरिएको हो । पुस्तकको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रजातन्त्र सेनानी तोरेन्द्रमानसिंह प्रधानले संयुक्त रुपमा विमोचन गरेका थिए ।

पुस्तकभित्र नेवारी संस्कृति र संस्कारसहित चाडपर्वहरूका बारेमा जानकारीमूलक सामग्री समेटिएको लेखक बज्राचार्यले जानकारी दिए । सोही अवसरमा लेखक बज्राचार्यलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै मेयर पराजुलीले भाषा र संस्कृतिको संरक्षण गर्न नसकेका कारण मुलुकको विकास हुन नसकेको बताए । “हामीले हाम्रो भाषा र संस्कृति बिर्सिएका छौं । भाषा र संस्कृति बिर्सिएका कारण हाम्रो देशको विकास हुन नसकेको हो,” उनले भने, “जुन देशले भाषा र संस्कृतिको संरक्षण गरेका छन् ती देशको विकास भएको छ ।”
मेयर पराजुलीले आफ्नो भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लाग्न नेवारी समुदायका व्यक्तिहरूलाई आग्रहसमेत गरे । उनले पश्चिमा संस्कृतिको प्रभावका कारण नेपालका मौलिक संस्कृति लोप हुने अवस्थामा पुगेको उल्लेख गरे । हरेक समुदाय आफ्नो भाषा र संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लाग्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा झी पुचःका कार्यबाहक अध्यक्ष हरिबहादुर श्रेष्ठ, पूर्वअध्यक्ष राजन श्रेष्ठ, महासचिव शरद श्रेष्ठ, वरिष्ठ अभिवक्ता सुरेशलाल श्रेष्ठलगायतले भाषा, साहित्य र संस्कृतिले मुलुकलाई एकढिक्का बनाएर राख्न मद्दत गर्ने बताए । झी पुचःले भाषा र संस्कृतिको संरक्षणसँगै समाजसेवाका कामसमेत गर्दै आएको उनीहरूको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर