AArya
RUMPUM
animated ellipse animated ellipse

‘मूटकोर्ट’ प्रतियोगिताको फाइनल भदौ ६ गते हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ भाद्र २०८३, बिहीबार १६:५२
3
Shares
विराटनगर / ब्राइटभिजन ल कलेज विराटनगरको आयोजनामा जारी ‘मूटकोर्ट’ (नमूना अदालत) प्रतियोगिताको फाइनलका लागि दुई समूहको टुंगो लागेको छ ।

गत साउन ३० गतेदेखि सुरु भएको प्रतियोगिताको समूह चरण, क्वाटरफाइनल र सेमिफाइनलका प्रतिस्पर्धा सम्पन्न भएसँगै फाइनलमा पुग्ने दुई समूहको टुंगो लागेको हो ।

भदौ ६ गते आयोजना हुने फाइनलमा बीभीएलसी ८१७ समूहबाट रविस कोइराला, अर्नभ शर्मा, चेतनसिंह बस्नेत र सुन्मिमा गौतम तथा बीभीएलसी ८०८ समूहबाट उन्नती पौडेल, स्वस्तिका रेग्मी, दिपीक्षा बस्नेत र अर्पणा राउतले प्रतिस्पर्धा गर्नेछन् ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने फाइनल प्रतियोगितामा उच्च अदालतका न्यायाधीशहरूको समेत उपस्थिति रहने कलेजले जनाएको छ । प्रतियोगितामा विद्यार्थीहरूले काल्पनिक घटनालाई मुद्दाका रूपमा प्रस्तुत गर्दै अदालतमा हुने बहस तथा अदालती प्रक्रियाको नमूना अभ्यास गर्नेछन् ।

कानुनका विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक तथा अभ्यासगत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा यस वर्ष २६ वटा समूहले सहभागिता जनाएका थिए ।

विद्यार्थीलाई अदालतमा हुने बहस, मिसिल तयार गर्ने तरिका, बहसनोट लेखन तथा अदालती प्रक्रियाका विषयमा व्यावहारिक जानकारी गराउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको कलेजका प्रमुख वरिष्ठ अधिवक्ता चुडामणि आचार्यले बताए ।
उनका अनुसार मूटकोर्ट अभ्यासले विद्यार्थीलाई कानुनका विषयवस्तु अध्ययनसँगै अदालतमा हुने बहस र न्यायिक प्रक्रियालाई नजिकबाट बुझ्न सहयोग पुर्याउँछ । ‘मूटकोर्ट’मा विद्यार्थीले अधिवक्ताको भूमिकामा रहेर मुद्दाका पक्ष–विपक्षमा बहस गर्ने, कानुनी आधार प्रस्तुत गर्ने तथा बहसनोट तयार गर्ने अभ्यास गर्दै आएका छन् ।

ब्राइटभिजन ल कलेजले गत वर्षदेखि मूटकोर्ट प्रतियोगिता आयोजना गर्दै आएको हो । पहिलो वर्ष १६ समूहले सहभागिता जनाएकोमा यस वर्ष २६ समूहको सहभागिता हुनुले विद्यार्थीमा मूटकोर्ट अभ्यासप्रतिको रुचि र आकर्षण बढ्दै गएको देखिएको कलेज प्रमुख आचार्यले बताए ।

प्रतियोगितामा प्रथम हुने समूहले नगद १३ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुने समूहले ७ हजार ५ सय रुपैयाँसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने समूहले ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट बहसकर्ता र उत्कृष्ट बहसनोट तयार गर्ने विद्यार्थीलाई जनही ४ हजार रुपैयाँसहित सम्मान गरिने कलेज प्रमुख आचार्यले जानकारी दिए।

फाइनलसँगै प्रतियोगिताको विजेता समूह तथा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कृत गरिने कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर