RUMPUM
animated ellipse animated ellipse

आईसियु र भेन्टिलेटर सेवा कोशी कोभिड उपचार केन्द्रमा आजबाट शुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ भाद्र २०७७, बिहीबार २०:४६
585
Shares
विराटनगर / प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको छ ।

कोरोनाका लक्षण सहितका संक्रमितको उपचार गर्नेगरि आईसियु र भेन्टिलेटर सेवा शुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेल बताए । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा कोरोनाको लक्षण देखिएकालाई अस्पताल र सामान्य प्रकृतिका संक्रमितलाई स्थानीय तहमै उपचारको प्रवन्ध गरिएको मन्त्री घिमिरेले बताए । उनले भने,‘लक्षण भएकालाई विराटनगर ल्याईने छ ।’ क्वारेन्टाईन र आईसोलेसनलाई व्यवस्थित गरेर मात्र कोरोना संक्रमणको निदान हुने मन्त्री घिमिरेले बताए ।

कोशी कोभिड उपचार केन्द्रमा १० वटा आईसीयु वेड, २ वटा फिक्ड र ३ वटा पोर्टेवलसहित ५ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले बताए । आईसीयुमा हाल ३ जना व्यक्तिहरु उपचाररत रहेको उनले बताए । आईसीयु र भेन्टिलेटर सञ्चालनका लागि आवस्यक जनशक्ति व्यवस्थापन पहिलो दुई साताका लागि कोशी अस्पताल र कोभिड अस्पतालमा कार्यरत जनशक्तिबाट गरिएको सचिव कार्कीले बताए । उनका अनुसार थप जनशक्ति व्यवस्थापनका लागि १० जना मेडिकल अफिसर र ३० जना स्टाफ नर्सलाई क्रिटिकल केयर तालिम आईतबारबाट सञ्चालन गर्ने तयारी गरिएको छ ।

गत चैत २१ गतेदेखि सञ्चालनमा ल्याईएको कोरोना उपचार केन्द्रमा वैशाख ५ गतेदेखि कोरोना संक्रमितलाई भर्ना शुरु गरिएको थियो । उपचार केन्द्रमा हालसम्म ३ सय १५ जना भर्ना भएका छन् । भर्ना भएका मध्ये १ सय १८ महिला र १ सय ५६ पुरुष गरि २ सय ७४ जना डिस्चार्ज भएका छन् । संक्रमित एक जनाको मृत्यु भएको छ ।

उपचार केन्द्रमा हाल १७ महिला र २४ पुरुष गरि ४१ जना उपचाररत रहेको अस्पतालका संयोजक डा. दीपक सिग्देलले बताए ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको सञ्चालनका लागि कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, डा. दीपक सिग्देल, डा. डेन आचार्य, डा. रुपेश गामी सम्मिलित विशेषज्ञ टिम रहेको छ । अस्पतालको व्यवस्थापनका लागि मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर वस्नेत र जनस्वास्थ्य अधिकृत एपोलो भगत सम्मिलित व्यवस्थापन टिम रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर