पूर्वाञ्चल खबर
उत्पादन गरी बिक्रीका लागि बजार लैजाने तयारी हुँदै गर्दा औषधि व्यवस्था विभागको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी, उपभोक्तावादी संस्था पब्लिक फोरमलगायतको संयुक्त टोलीले अनुगमन गरेर उत्पादनमा रोक लगाएको थियो ।
पहिलो पटक २०७७ साल असोज १३ गते गरिएको अनुगमनपछि टोलीले उत्पादित सेनिटाइजर बजार लैजान र बिक्री गर्न पनि रोक लगाएर परीक्षणका लागि पठाएको थियो । अनुगमनका क्रममा एक सय ९४ कार्टुन सेनिटाइजर बिक्रीमा बन्देज गर्दै उत्पादन पूर्ण रुपमा रोकिएको विभागको कार्यालय विराटनगरका फार्मेसी अधिकृत दीपेन्द्र खड्काले जानकारी दिए ।
उनका अनुसार अनुगमन हुँदा दर्ता र अनुमति बिनानै उद्योग स्थापना गरेर सेनिटाइजर उत्पादन गरिररहेको फेला परेको थियो ।
दर्ता बिना सञ्चालनमा रहेको उद्योग बन्द गराउँदै अवैध रुपमा उत्पादित सेनिटाइजरको नमुना भने संकलन गरेर परीक्षणका लागि राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको निरीक्षक खड्काले बताए । मंगलबार प्राप्त परीक्षण रिपोर्टले अवैध रुपमा उत्पादन भइरहेको सेनिटाइजर गुणस्तरहीन पुष्टि भएपछि नष्ट गरिएको उनले बताए ।
उद्योगमा आज दोस्रो पटक अनुगमन गर्दै बिक्रीमा रोक लगाइएको उत्पादित सेनिटाइजर नष्ट गरिएको हो । उनका अनुसार पानीको स्रोतमा हालेर नष्ट गर्दा जीवजन्तुलाई असर गर्नसक्ने देखिएपछि डाइलुसन गराएर (सेनिटाइजरमै पानी हालेर) शौचालयको सेफ्टी ट्यांकीमा हालेर नष्ट गरिएको बताए ।
सेनिटाइजर बनाउन इथानोल र आइसोप्रोपायल अल्कोहल ७० देखि ८० प्रतिशत हुनुपर्ने सरकारी मापदण्ड छ । तर उद्योगले इथानोलको ठाउँमा मिथाइल अल्कोहल प्रयोग गरेर सेनिटाइजर बनाइरहेको पाइएको थियो ।