खबर पूर्वाञ्चल
आवश्यक पूर्वाधार भएका जिल्ला अस्पतालमा कम्तिमा चार वटा भेन्टिलेटरसहित आवश्यक चिकित्सक सहित जनशक्तिको ब्यवस्था मिलाइने भएको हो । आगामी आर्थिक वर्ष २०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारीले सो जानकारी दिएका हुन् । नीति तथा कार्यक्रममा कोशी अस्पताललाई प्रदेश मातहत ल्याउन पहल थालिने र स्तरोन्नतिको कार्य शुरु गरिने उल्लेख छ ।
मेची अस्पताललाई कम्तिमा ६ वटा भेन्टिलेटरसहित स्तरोन्नति गरिने उल्लेख छ । प्रदेश १ का सबै अस्पताल तथा आयुर्वेद संस्थाहरुमा न्यूनतम सेवा मापदण्ड निर्धारण र कार्यान्वयन गर्दै आयुर्वेद, प्राकृतिक चिकित्सा तथा होमियोपैथिक सेवाको समेत सेवा विस्तार गर्दै लगिने भएको छ ।
धनकुटामा जिल्ला अस्पताललाई ६ वटा भेन्टिलेटरसहित बहु–बिशिष्टिकृत प्रादेशिक शिक्षण अस्पतालको रूपमा स्तरोन्नति गर्दै लगिने उल्लेख गरिएको छ । ‘रोग पालेर होइन फालेर बाचौं’ भन्ने मान्यतालाई सार्थकता प्रदान गर्न महिलामा देखिने प्रजनन् स्वास्थ्य समस्याहरु, आङ खस्ने, पाठेघरको क्यान्सर, स्तन क्यान्सरको रोकथाम तथा उपचार व्यवस्थापनलाई सहज तुल्याइने भएको छ । स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका विपन्न, सीमान्तकृत, दलित, लोपोन्मुख लगायत पछाडी परेका समुदायलाई स्वास्थ्य सेवाको मूलधारमा ल्याई विद्यमान असमानतालाई अन्त्य गर्न सबै नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याइने नीति तथा कार्यक्रमा उल्लेख छ ।
आगामी बर्ष देखि १ सय ३७ वटै पालिकाहरुमा बहुपक्षीय पोषणको कार्यक्रम बैदेशिक सहयोग समेत परिचालन गरी लागू गरिने बताईएको छ । प्रदेश १ मा जेष्ठ नागरिकहरुको अनुहारमा मुस्कान छर्ने उद्देश्य सहित स्थानीय पालिकाहरुसँग सहकार्य गरी प्रदेश प्रमुख जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम सबै पालिकाहरुमा संचालन गरिने भएको छ ।
प्रदेशका जनताको स्वास्थ्य सेवालाई थप चुस्त, प्रभावकारी पहुँचमा पु¥याउन उच्च प्राथमिकताका साथ कार्यक्रमहरु संचालन गरिने भएको छ । कोभिड–१९को रोकथाम, नियन्त्रण र उपचार एवं भविष्यमा आउन सक्ने विभिन्न महामारी विरूद्ध लड्न स्वास्थ्य सेवा प्रणालीलाई सबल र सुदृढ तुल्याउन आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै निरोधात्मक तथा उपचारात्मक एकिकृत स्वास्थ्य प्रणालीको विकास तथा सेवा विस्तारमा प्रदेश सरकारले जोड दिने भएको छ । कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार कार्यमा खटिने स्वास्थ्यकर्मी, अन्य कर्मचारीहरुको मनोबल उच्च राखी कार्य सम्पादनको स्तर वृद्धि गर्न र जनसेवा प्रति समर्पित वनाउन प्रदेश सरकारले उपयुक्त ढंगले प्रोत्साहित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।