पूर्वाञ्चल खबर
स्वास्थ्य कार्यालयका अधिकृत मुलुकचन्द राजवंशीका अनुसार जिल्लामा प्रत्येक वर्ष संक्रमितको संख्या बढ्दो क्रममा छ । आर्थिक वर्ष २०८०/८१ मा १ हजार २ सय ७७ संक्रमित फेला परेकामा ३० जनाको मृत्यु भएको थियो । आव २०८१/८२ मा संक्रमितको संख्या बढेर १ हजार ३ सय ४० पुग्यो भने मृत्यु हुनेको संख्या पनि ४० पुग्यो । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको ८ महिनामा मात्रै ८ सय ३० जना नयाँ संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भइसकेको छ ।
“संक्रमित पहिचानको दायरा बढाउँदा बिरामीको संख्या बढी देखिएको हो,” अधिकृत राजवंशीले भने, “तर मृत्युदर नियन्त्रण गर्नु हाम्रा लागि मुख्य चुनौती बनेको छ ।” विशेष गरी सुन्दरहरैँचा, पथरीशनिश्चरे, उर्लाबारी र रंगेली नगरपालिकामा संक्रमितको संख्या उच्च देखिएको छ ।
क्षयरोग नियन्त्रणमा बिरामीले बीचमै औषधि छाड्नु सबैभन्दा ठूलो अवरोध देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । उपचार सुरु गरेपछि केही सुधार महसुस हुनेबित्तिकै औषधि छाड्ने प्रवृत्तिले रोग झन् जटिल बन्ने गरेको छ । भारतसँग सीमा जोडिएका दक्षिणी क्षेत्रका गाउँहरूमा यो समस्या बढी देखिएको राजवंशीले जानकारी दिए ।
हाल मोरङका १२३ वटा डट सेन्टरमार्फत निःशुल्क औषधि र २० वटा केन्द्रबाट खकार जाँच सेवा उपलब्ध छ । यस्तै, विराटनगरस्थित नाडा, मंगलबारे अस्पताल, नोबेल शिक्षण अस्पताल र कोशी प्रादेशिक प्रयोगशालामा आधुनिक ‘जेन एक्सपर्ट’ प्रविधिबाट रोगको पहिचान भइरहेको छ । नाडामा औषधि प्रतिरोधी ९डीआर० बिरामीको विशेष उपचार हुने गरेको छ ।
जिल्लाका विराटनगर महानगरपालिका, पथरीशनिश्चरे र केराबारीलाई ‘क्षयरोग मुक्त पालिका’ घोषणा गर्ने तयारी भइरहेको छ । यसैबीच, चैत १० गते ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नाराका साथ विश्व क्षयरोग नियन्त्रण दिवस मनाइँदै छ ।