खबर पूर्वाञ्चल
जेठ ४ गते पहिलो पटक जिल्ला अस्पताल धनकुटाकी एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको थियो । स्वास्थ्यकर्मीमा कोरोना पुष्टी भएपछि कन्ट्याक टे«सिङका आधारमा गरिएको स्वाव परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टी भएका मध्ये धनकुटाका ४ स्वास्थ्यकर्मी कोभिड अस्पतालका अन्य ४६ जना संक्रमितसँगै उपचारमा छन् । उनीहरु आँफै उपचारमा रहेपछि उनीहरुले अन्य संक्रमितको स्वास्थ्य परीक्षणका विभिन्न कार्यमा अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको कामलाई सघाउँदै आएका छन् । सामान्य अवस्थामा रहेका स्वास्थ्यकर्मीले अन्य संक्रमितलाई कोरोनाका बारेमा सचेतना र डिस्चार्ज पछि गर्नुपर्ने कामका बारेमा पनि बताउने गरेका छन् ।
कोभिड अस्पतालका फिजिसियन डा.डेन आचार्यका अनुसार स्वास्थ्यकर्मीले भर्ना भए लगत्तै देखि संक्रमितको उपचारमा सघाउँदै आएका छन् । डा. आचार्यले भने,‘उहाँहरु सामान्य अवस्थाको हुनुहुन्छ, संक्रमितलाई कोरोनाका बारेमा विभिन्न विषयमा जानकारी गराउँदै उपचार कार्यमा हामीलाई सघाउँदै आउनु भएको छ ।’ कोभिड अस्पतालमा उपचारत एक संक्रमितलाई निमोनिया भएको छ । ‘निमोनियाँ भएका संक्रमितको उपचारमा स्वास्थ्यकर्मीले सहयोग गर्नुभएको छ’ डा. आचार्यले भने ।
कोभिड अस्पतालमा चिकित्सकसहित २५ जना स्वास्थ्यकर्मीहरु उपचारमा खटिएका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु ७ दिन कोभिड अस्पतालमा रहेका संक्रमितको उपचारमा संलग्न रहन्छन् । ७ दिनको अस्पताल बसाईपछि १४ दिन क्वारेन्टाईनमा बस्ने गरेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८४ पुगेको छ । २६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्यकर्मीसहित ५० जना अहिले उपचाररत रहेका छन् ।