RUMPUM
animated ellipse animated ellipse

छैन मोरङका साना नाकामा हेल्थडेस्क

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ चैत्र २०७६, आईतवार ०८:५९
3
Shares
विराटनगर / कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न भन्दै नेपाल भारत सीमा क्षेत्रको आवागमनमा कडाई गर्ने घोषणा गरेपनि मोरङका तीन वटा नाकामा हेल्थडेस्कसमेत नराखेको समाचार आजको हाम्रोमत दैनिकले छापेको छ ।

नेपालभित्रकै लामो दुरीको यातायात बन्द गर्ने घोषणा गरेको सरकारले सीमा नाका बन्द नगरेको भन्दै नागरिक तहबाट आलोचना भइरहँदा सीमा नाकामा हेल्थडेस्क पनि नराखिनुले जोखिम बढेको छ ।

प्रदेश १ सरकारले विराटनगरको रानी र झापाको काँकडभिट्टाबाहेकका नाका बन्द गर्न संघीय सरकारलाई अनुरोध गरेको छ । तर, मोरङका आधा दर्जन बढी भारतसँग सीमा जोडिएका साना नाकाहरूमध्ये रानीसहित केही नाकामा हेल्थडेस्क राखिएको भएपनि तीनवटा नाकाबाट बेरोकटोक ओहोरदोहोर भइरहेको छ ।

सुनवर्षि नगरपालिका–८ को सिक्टी र ढोरिया तथा जहदा गाउँपालिकाको गडेरिया नाकामा हेल्थ डेस्क नरहेको पाइएको छ । सुनवर्षि– ८ का स्थानीयले सिक्टी नाकामा हेल्थडेस्क नगरपालिकालाई आग्रह गरेपनि चासो नदेखाएको बताएका छन् । वडासदस्य कन्हा मियाका अनुसार सिक्टी नाकाबाट दैनिक ७ सयदेखि ८ सय नेपाली र भारतीय नागरिक आहोरदोहोर गर्ने गरेका छन् । तर, उनीहरुको कुनै चेकजाँच हुने गरेको छैन ।

भारततर्फ जाने क्रममा भारतको हेल्थडेस्कमा चेकजाँच हुने गरेकोमा नेपाल फर्कनेको कुनै चेकजाँच हुँदैन । सुनवर्षिसँगै सीमा जोडिएको रंगेली नगरपालिकाले भने तीन वटा नाकामा हेल्थडेस्क राखेको छ । रंगेलीको आपगाछी, चोपरा नाकामा हेल्थडेस्स राखेर चेकजाँच भइरहेको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका सिनियर अहेब एपोलोकुमार भगतले जानकारी दिए ।

धनपालथान गाउँपालिका १ नम्बर वडाको नोचा, २ नम्बर वडाका खैरवना र ३ नम्बर वडाको मायागन्जमा पनि हेल्थडेस्क राखिएको छ । मोरङको भारतसँग सीमा जोडिएका ८ वटा नाकामध्ये ५ वटा नाकामा हेल्थ डेस्क रहेको भगतले बताउनुभयो । बाँकी नाकामा स्थानीय पालिकासँग समन्वय गरि हेल्थडेस्क राख्ने तयारी भएको उनको भनाइ छ ।

प्रदेश १ को ३७ वटा सीमा नाकामा हेल्थडेस्क सञ्चालमा रहेको सरकारले जनाएको छ । गत फागुन २७ गतेदेखि मुख्य सीमा नाकामा हेल्थडेस्क राखेर स्वास्थ्य जाँच भइरहेको छ । शुक्रबार साँझसम्म १ लाख ५ हजार जनाको सीमा क्षेत्रमा स्वास्थ्य जाँच गरिएको र कुनै पनि जोखिमको अवस्था नरहेको सामाजिक विकास मन्त्रालयको दावी छ ।

हेल्थ डेस्कमा २ सिफ्टमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । तर, उनीहरुको लागि आवश्यक सुरक्षा उपकरण र सामान भने अझै अभाब छ । सीमा नाकामा राखिएका हेल्थडेस्क भरपर्दो नरहेको अनुगमनको क्रममा देखिएको छ ।

दक्षिणी नाकामा राखिएका डेस्कका कर्मचारीले सामान्य ग्लोब्स र मास्क लगाएर भारतबाट प्रवेश गर्नेलाई थर्मल स्क्यानरले ज्वरो जाँच गर्दै आएका छन् । ज्वरो नाप्ने थर्मोमिटर पर्याप्त नहुँदा थप स्थानमा हेल्थडेस्क विस्तार गर्न नसकेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर