AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रोजी कँडेलको योजनामा सिटिजन्स बैंकको राजवंशी शाखामा ५ करोड हिनामिना, अपरेसन इन्चार्ज कँडेलसहित ५ कर्मचारी निलम्बित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ चैत्र २०८२, सोमबार १६:२१
567
Shares
विराटनगर / सिटिजन्स बैंक विराटनगर–४ स्थित राजवंशी शाखामा करिब ५ करोड रुपैयाँ हिनामिना भएको तथ्य सार्वजनिक भएको छ ।

बैंकका कर्मचारीहरूकै मिलेमतोमा ४ करोड ९१ लाख रुपैयाँ अनियमितता भएको पाइएपछि ५ जना कर्मचारीलाई निलम्बन गरी छानबिनको दायरामा ल्याइएको हो ।

बैंकले गरेको आन्तरिक लेखापरीक्षण (अडिट) का क्रममा ठूलो परिमाणमा रकम हिनामिना भएको देखिएपछि बैंक प्रशासनले संलग्न कर्मचारीहरूलाई निलम्बन गरी कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको छ । हिनामिना भएको रकम असुलउपर गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन बैंकले प्रहरी गुहारेको हो ।

यसरी हुन्थ्यो घोटाला
बैंकका अनुसार कर्मचारीहरूले निक्षेपकर्ताले (मुद्दती निक्षेप) फिक्स डिपोजिटमा राखेको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल खडा गरी रकम निकाल्ने गरेको पाइएको छ । करिब दुई महिनाअघि नै आन्तरिक छानबिनका क्रममा यो बदमासी सतहमा आएको थियो ।

यस घोटाला प्रकरणमा राजवंशी शाखाकी अपरेसन इन्चार्ज रोजी कँडेललाई मुख्य आरोपी बनाइएको छ । विराटनगर निवासी कँडेलसँगै अन्य ४ जना कर्मचारीलाई पनि शंकाको घेरामा राख्दै बैंकले निलम्बन गरेको छ र थप अनुसन्धानका लागि उनीहरूको विवरण प्रहरीलाई बुझाएको छ ।

सिटिजन्स बैंकका सूचना अधिकारी नारायणराज अधिकारीले कर्मचारीले घरकै पैसा चलाए जस्तो गरी नक्कली कागजात बनाएर अनियमितता गरेको स्वीकार गरे । उनले भने, ‘रोजी कँडेलले अपरेसन इन्चार्जको जिम्मेवारीमा रहेर अनधिकृत रूपमा कारोबार र बदमासी गरेको सत्य हो । उनले पदीय मर्यादाविपरीत अनइथिकल काम गरिन् । यो एक प्रकारले घरको पैसा चलाए जस्तै देखिएको छ ।’

सूचना अधिकारी अधिकारीका अनुसार मुख्य आरोपी रोजी कँडेलले आफूले एक्लै यो कार्य गरेको स्वीकार गरिसकेकी छिन् र हिनामिना भएको रकम फिर्ता गर्ने सर्तमा आफ्नो नाममा रहेको एउटा जग्गा बैंकलाई बुझाइसकेकी छिन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालले बैंकबाट निवेदन प्राप्त भएको र यसबारे सूक्ष्म अनुसन्धान भइरहेको पुष्टि गरे । प्रहरीले बैंकसँग संलग्न सबै कर्मचारीको विस्तृत विवरण र आन्तरिक अनुसन्धान प्रतिवेदन माग गरिसकेको छ ।

बैंकका सूचना अधिकारी अधिकारीले यो बैंकभित्रको आन्तरिक बदमासी भएकाले सर्वसाधारणको निक्षेपमा कुनै असर नपर्ने स्पष्ट पारेका छन् । ‘यो बैंकभित्र कर्मचारीले गरिएको बदमासी हो, सेवाग्राहीलाई यसबाट कुनै समस्या हुँदैन, उनीहरूको पैसा पूर्ण रूपमा सुरक्षित छ,’ उनले ग्राहकलाई आश्वस्त पार्दै भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर