पूर्वाञ्चल खबर
३१ वर्षीय छोरा बासुदेव कार्कीले आफ्नै बुबा ६२ वर्षीय जयबहादुर कार्की लाई कोे आँगनमा पछारेर हत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए ।
उनका अनुसार कार्की परिवारमा केही समयअघिदेखि जग्गा अंशबन्डासम्बन्धी विवाद रहेको पाइएको छ । त्यही विवादलाई लिएर बासुदेव र उनका भाई तीर्थराजबीच भएको झगडा छुट्याउन गएका जयबहादुरलाई जेठो छोरा बासुदेवले आँगनको ढुङ्गामा पछारेको प्रहरीले जनाएको छ ।
डिएसपी श्रेष्ठका अनुसार आज दिउँसो १२ः३० बजेतिर छोराले आँगनमा पछारेपछि गम्भीर घाइते भएका वृद्ध जयबहादुरलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा ल्याएको थियो । उनको उपचारकै क्रममा दिउँसो ३ः३० बजेतिर मृत्यु भएको श्रेष्ठले बताए ।
प्रहरीले बुबाको हत्यामा संलग्न बासुदेवलाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । डिएसपी श्रेष्ठले अनुसन्धानका लागि भाई तीर्थराजलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिए ।
बुबाको हत्या गरेका बासुदेवले सुरुमा आमा ५८ वर्षीया उमादेवी कार्कीमाथि समेत कुटपिट गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार छोराको कुटपिटबाट उमादेवीको अनुहार र टाउकोमा चोट लागेको छ ।
स्थानीयका अनुसार परिवारबाट अलग भएका बासुदेव लगभग डेढ महिनाअघिदेखि सुनसरीको इटहरीमा बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि दुबई गएका तीर्थराज भने केही दिनअघि मात्रै घर फर्किएका हुन्। कार्की परिवारमा केही समयदेखि जग्गा अंशबन्डासम्बन्धी विवाद रहेकोे स्थानीय बताउँछन् ।