animated ellipse animated ellipse

उमागौरी सहकारी ठगी प्रकरणमा अध्यक्ष रौनियारको बयान नसकिएपछि लगाइयो प्रहरीको जिम्मा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ माघ २०८१, सोमबार १८:५०
522
Shares
विराटनगर / मोरङको धनपालथान गाउँपालिका –४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाको ठगी मुद्दामा फरार अभियुक्त सहकारीका अध्यक्ष सम्भुप्रसाद रौनियारको अदालतमा बयान नसकिएपछि प्रहरीको जिम्मा लगाएको छ ।

अभियुक्त रौनियारको अदालतमा बयान नसकिएपछि मोरङ प्रहरीलाई जिम्मा लगाएर पठाएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

सहकारीको बचत अपचलन मुद्दा दर्ता भएपछि फरार रहेका रौनियार आज मोरङ अदालतमा उपस्थित भएका थिए । कानुन व्यवसायीलाई साथमा राखेर अदालत उपस्थित भएपछि उनको मोरङ अदालतको न्यायाधीश अरुणकुमार झाको ११ नम्बर इजलासमा बयान सुरु भएको थियो । ‘बयान नसकिएपछि भोली उपस्थित हुने गरी मोरङ प्रहरीलाई जिम्मा लगाएर पठाएको छ । भोली अदालत खुलेपछि फेरी बयान सुरु हुनेछ ,’ मोरङ अदालतका सूचना अधिकारी बुढाथोकीले भने, ‘प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।’

अदालतले जिम्मा लगाएर पठाएपछि अहिले मोरङ प्रहरी कार्यालयको न्यायीक हिरासतमा राखिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । अदालतले भनेको समयमा प्रतिवादीलाई उपस्थित गराउने गरि जिम्मा लगाएर पठाएको उनले बताए ।

उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दामा सहकारीका अध्यक्ष रौनियार, संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइरालासहित २६ जनालाई प्रतिवादी बनाएर २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित २७ मंसिरमा मुद्दा दायर भएको थियो ।

मंसिर २८ गते जिल्ला अदालत मोरङले थुनछेक बहसपछि सहकारीका सञ्चालक तथा धनपालथान गाउँपालिका– ४ का पूर्ववडाध्यक्ष रोशन चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

गत २४ पुसमा अदालतमा उपस्थीत भएकी सहकारीको पूर्वसञ्चालक अन्जला कोइराला पनि १० लाख धरौटीमा छुटेकी थिइन् । यो मुद्दामा अहिलेसम्म पाँच जना अदालतमा उपस्थित भएका छन् । तीन जनाको हकमा धरौटि रकम बुझाएर रिहा भएका छन् भने एक जना पुर्पक्षको लागि थुनामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर