पूर्वाञ्चल खबर
काठमाण्डौं / प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई संसद्बाट अनुमोदन गर्दा नेपाललाई फाइदा पुग्ने बताएका छन् ।
आज नेकपा केन्द्रीय समिति बैठकको उद्घाटनमा ओलीले एमसीसी अन्तर्गतको अमेरिकी आर्थिक सहयोग स्वीकार गर्नुपर्ने बताएका हुन् । एमसीसीका केही प्रावधान देश हित विपरीत रहेको भन्दै सत्तारुढ नेकपाकै नेताले आलोचना गरिरहेको बेला ओलीले संसद्बाट अनुमोदनको विषयलाई दोहोर्याएका हुन् । उनले एमसीसीका सबै बुँदा पढेको उल्लेख गर्दै कुनै भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह समेत गरे ।
प्रतिपक्षी काँग्रेस पनि एमसीसी सम्झौतालाई संसद्बाट छिट्टै अनुमोदन गराउनुपर्ने पक्षमा उभिएको छ । प्रधानमन्त्री ओलीले यतिसँग कुनै साइनो नभएको पनि प्रस्ट पारे । उनले १२ वर्षअघिको विषयलाई कोट्याएर प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए । यसमा कानुन सम्मत ढंगले अगाडि बढ्ने भएकाले त्यसमा सरकारले कुनै गल्ती नगरेको उहाँले बताए । सरकारले धेरै राम्रा काम गरे पनि प्रचार हुन नसकेको प्रधानमन्त्री ओलीले बताए । पार्टी बैठकमा सरकारको लामो प्रगति विवरण सुनाएका ओलीले सरकार भ्रष्टाचारमा नलागेको पनि स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुराको विवाद छिट्टै सुल्झिने पनि बताए । उनले विवाद समाधानका लागि पहिलो पटक भारतलाई औपचारिक पत्राचार गरेको पनि जानकारी गराए । लिपुलेक विवादका विषयमा संसदमा सविस्तार बोल्ने ओलीले बताए । लिपुलेक नेपालको हो भन्ने विभिन्न प्रमाणले देखाउने ओलीको भनाइ छ । सरकारले सीमा सुरक्षामा विशेष ध्यान दिएको पनि ओलीले बताए ।
राष्ट्रहितलाई बेवास्ता गर्ने, अवमूल्याङकन गर्ने, कम मूल्यांकन गर्ने, काम सरकारबाट भएको छ भन्ने नसोच्न ओलीले आग्रह समेत गरे । आफू नेतृत्वको सरकार देशभक्त, राष्ट्रभक्त र सत्य बोल्न नडराउने सरकार भएको ओलीको भनाइ छ । हिजो संसदमा सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिने क्रममा प्रधानमन्त्री ओलीले भ्रमण वर्ष २०२० को सुरूमा प्राकृतिक धक्का लागेको बताएको स्पष्ट परे । प्रधानमन्त्रीपछि बोलेका प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले धक्काको कुरा गरेकोले देउवालाई आज केन्द्रीय समिति बैठकबाट जवाफ दिदै प्रधानमन्त्री ओलीले आफूले कोरोना भाइरसको कुरालाई धक्का भनेको प्रष्ट पारे । उनले नेपालमा एक जनामा मात्रै कोरोना भाइसरको संक्रमण देखिएको बताए ।