पूर्वाञ्चल खबर
विराटनगर / संङ्घीयताको कार्यान्वयनमा महिलाहरुको उल्लेखनीय सहभागी हुनुपर्ने प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी ’ले बताएका छन् ।
आज विराटनगर अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश कार्यालय,मानवअधिकार रक्षक र मानव अधिकार सञ्जालद्वारा आयोजित प्रदेश प्रमुख प्यासीको स्वागत, सम्मान तथा वधाई एवं मानव अधिकार तथा मानवीय अवस्था विषयक कार्यक्रममा सो विचार व्यक्त गरेका हुन्
‘लोकतन्त्र , गणतन्त्र स्थापनाका साथै सामन्तवाद अन्त्यका लागि महिला अधिकारकर्मीको ठूलो भूमिका रहेको हुनाले राज्यले यसलाई ठूलो शक्तिको रुपमा वुझेको छ’ उनले बताए । विगत १० वर्षको अवधिमा महिला विकासमा उल्लेखनीय प्रगतिको भएकोमा खुशी व्यक्त गर्दै प्रदेश प्रमुख प्यासीले प्रत्येक क्षेत्रमा महिलाको प्रतिस्पर्धी सहभागीता पाइएको बताए ।
मानवअधिकार रक्षाको निम्ति कार्यरत अधिकारकर्मीले राज्य विवादमा जाने कुराप्रति सचेत रहनु पर्ने बताउँदै प्रदेश प्रमुख प्यासीले दुर्गम तथा दलितहरु वसोवास गर्ने क्षेत्रमा विकास नहुंदा उनीहरुको मानवअधिकार हनन हुने बताए ।
राज्यले राष्ट्रिय मानवअधिकार आयोगको गठन जनताको मानवअधिकार रक्षाका लागि गठन गरिएको जानकारी दिदै प्रदेश प्रमुख प्यासीले यसमा रहेका यसमा रहेका कमीकमजोरी लागि सुधार गर्दै लानु पर्नेमा जोड दिए ।
प्रदेश १ योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले राज्यले महिलाको विकासमा ध्यान केन्द्रीत गरेमा राष्ट्रको तीन चौथाइ विकास भएको विश्वका धेरै राष्ट्रमा देखिएको जानकारी दिदै राज्य भन्दा व्यक्तिले ९० प्रतिशत भन्दा वढी मानवअधिकार उल्लङघन गरेको दावी समेत गरे ।
इन्सेकका प्रदेश प्रमुख सोम थापा, नेपाल पत्रकार महासंघका मोरङ अध्यक्ष बन्धु पोखरेल, मानवअधिकारकर्मीहरु मंजिता उपाध्यक्ष, उमेश विश्वकर्मा, मोहन जोशी दिनेश श्रेष्ठ, त्रिलोक न्यौपाने मणि अर्याल, विष्णु शर्मा पन्त,लता प्याकुरेल , राजकुमारी भट्टराई र कोशराज न्यौपानेले स्वास्थ्य र शिक्षामा जनताले समुचित मानवअधिकार पाउनु पर्नेमा जोड दिए ।