AArya
RUMPUM
animated ellipse animated ellipse

पेश्की असुलीमा कडाई गर्दै प्रदेश खेलकुद विकास बोर्ड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ श्रावण २०८३, बिहीबार १८:१०
162
Shares
विराटनगर/ प्रदेश खेलकुद विकास बोर्डले मातहतको कार्यालयलाई विभिन्न प्रयोजनमा पठाएको पेश्की खर्च नभएको अवस्थामा असुल गर्न थालेको छ।

बोर्डले विभिन्न अवसरमा मातहातका खेलकुद विकास समितिहरूलाई पठाएको पेश्की खर्च नभएको वा अन्य प्रयोजनमा खर्च गरेको भएमा त्यसलाई फर्छ्यौट गराउन अभियान नै थालेको हो।

बोर्डले विभिन्न खेलकुद प्रतियोगिताका लागि छुट्याउने गरेको रकमहरू जिल्लामा पठाउने गरेको तर खर्च नभएको रकम लामो समय सम्म फिर्ता नभएपछि पेश्की फर्छ्यौटमा कडाई गरेको बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिए। उनले बोर्डमातहत खर्च हुने पैसाको ठूलो हिस्सा खेल प्रतियोगिता र खेलाडीका लागि भएकोले त्यस्तो रकम जिल्ला खेलकुद समितिले कुनै अन्य प्रयोजनमा प्रयोग गरे गैरकानुनी हुने भन्दै त्यसलाई रोक्न बोर्डले पहल गरेको बताए।

बोर्डले हालै २०८१ साल माघ १३ गते विभिन्न जिल्ला खेलकुद समितिलाई पठाएको मध्ये खोटाङ्गसँग असुलउपर गर्न बाँकी ८ लाख पेश्की असुल गरेको छ। जिल्ला खेलकुद विकास समिति खोटाङ्गले असार ८ गते सामाजिक विकास मन्त्रालयको खातामा उक्त रकम फिर्ता गरेको सदस्य सचिव घोषले जानकारी दिए।

त्यस्तै, बोर्डले जिल्ला खेलकुद विकास समिति तेह्रथुमका तत्कालिन अध्यक्ष राजेन्द्र बरालले हिनामिना गरेको २५ लाख बढी रकम असुल गर्न समेत प्रक्रिया सुरु गरेको छ। बरालले समितिको कार्यालय प्रमुखको हस्ताक्षर किर्ते गर्दै समितिको २५ लाख रकम तेह्रथुम डिस्ट्रिक्ट स्पोर्ट्स विकास समितिको नाममा कृषि विकास बैंकमा खाता खोलेर हिनामिना गरेको आरोप छ। बराल उक्त अभियोगमा हालै धरौटीमा छुटेका छन्।

सदस्य सचिव घोषले बोर्डले तेह्रथुम खेलकुद विकास समितिको रकम असुल्न कानुनी कारबाही थालेकोमा कानुन अनुसार अघि बढ्ने बताए। घोषले आफ्नो कार्यकालमा आर्थिक पारदर्शितालाई मूल मन्त्र मान्दै काम गर्ने र बोर्डले असुलउपर गर्नु पर्ने सबै रकम असुल गरेर खेल र खेलाडीको हितमा प्रयोग गर्ने आफ्नो प्रष्ट धारणा रहेकोमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर