AArya
RUMPUM
animated ellipse animated ellipse

सिद्धार्थ सेकेण्डरी स्कुलमा नमुना निर्वाचन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ जेष्ठ २०८३, शनिबार १६:५६
3
Shares
विराटनगर / मोरङको सुन्दरहरैंचा–१० खोर्साने स्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा नेपालमा हुने निर्वाचन प्रक्रियालाई व्यवहारिक रूपमा बुझाउने उद्देश्य सहित विद्याल यस्तरीय नमूना निर्वाचन सम्पन्न गरिएको छ ।

निर्वाचनमा कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १ हजार १ सय विद्यार्थी सहभागी भएका थिए।

विद्यालयले विद्यार्थीहरूमा नेतृत्व विकास, लोकतान्त्रिक अभ्यास, जिम्मेवारीबोध तथा सामूहिक नेतृत्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले जुनियर तथा सिनियर स्कुल क्याप्टेन चयनका लागि निर्वाचन आयोजना गरेको हो । विद्यालय परिसरभित्र २२ वटा मतदान केन्द्र निर्माण गरी व्यवस्थित रूपमा मतदान प्रक्रिया सञ्चालन गरिएको थियो ।

निर्वाचनलाई वास्तविक आम निर्वाचनजस्तै व्यवस्थित बनाउन मतदाता नामावली, मतदान अधिकृत, मतपेटिका, स्वयंसेवक तथा मतदान संकेत चिह्नको प्रयोग गरिएको थियो । विद्यार्थीहरू अनुशासित रूपमा लाइनमा बसेर मतदान केन्द्रमा प्रवेश गरेका थिए भने मतदान प्रक्रियाले विद्यालय परिसरमा वास्तविक चुनावी माहोल सिर्जना गरेको थियो ।

विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले विद्यालय केवल पाठ्यपुस्तकको ज्ञान दिने थलो मात्र नभई व्यवहारिक जीवन उपयोगी सीप सिकाउने स्थान पनि भएको बताए । उनले भने, “विद्यार्थीहरूले सानैदेखि लोकतन्त्र, मतदान अधिकार, नेतृत्व चयन प्रक्रिया तथा जिम्मेवारीबोधबारे व्यवहारिक अनुभव हासिल गरून् भन्ने उद्देश्यले नमूना निर्वाचन आयोजना गरेका हौं । यस्ता कार्यक्रमले विद्यार्थीमा नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन तथा सामूहिक निर्णय प्रक्रियाको भावना विकास गर्न ठूलो सहयोग पुग्छ ।”

निर्वाचनअन्तर्गत उम्मेदवार विद्यार्थीहरूले केही दिनदेखि प्रचारप्रसार, भेटघाट तथा आफ्ना योजनाहरू सार्वजनिक गरेका थिए । विद्यालय परिसरमा चुनावी माहोल देखिनुका साथै विद्यार्थीहरूमा उत्साहसमेत उल्लेखनीय रहेको थियो ।

मतदानमा सहभागी विद्यार्थीहरूले समेत यस्तो अभ्यासले भविष्यमा राष्ट्रिय निर्वाचन प्रक्रियालाई बुझ्न सहज हुने बताएका छन् । उनीहरूले मतदान अधिकारको महत्व र नेतृत्व चयन प्रक्रियाबारे व्यवहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।

विद्यालयले मतदान सम्पन्न भएपछि मतगणना गरी विजयी उम्मेदवार घोषणा गरिने जनाएको छ । साथै आगामी दिनमा समेत व्यवहारिक तथा सिर्जनात्मक शिक्षालाई प्राथमिकता दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिइने विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय व्यवस्थापन पक्षका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई जिम्मेवार, अनुशासित तथा नेतृत्वदायी नागरिकका रूपमा विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर