पूर्वाञ्चल खबर
मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत वडा नं. २ को वेल्टार क्षेत्रलाई दूध उत्पादनको हब बनाउने अभियान सञ्चालन भएको छ ।
अभियानबाट सो क्षेत्रका १ सय ४४ घर लाभान्वित भएका छन् । विभिन्न समूह निर्माण गरी ब्यवसायिक पशुपालन सम्वन्धि शिपमुलक तालिम साथै पशु विमा र रोगहरुका बारेमा कृषकलाई सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । गुणस्तरीय दूध उत्पादनका लागि कृषकलाई आवश्यक सामाग्री, पशुहरुका लागि आवश्यक औषधी उपकरण निःशुल्क वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
विगतका दिनहरुमा कृषकले उत्पादन गरेको दूधले उचित बजारमूल्य नपाएकोम अहिले दूधको उचित मूल्य पाउँदा किसानहरु उत्साही छन् । फ्याट र एसएनएफका आधारमा मूल्य पाउने गरेको बताउँदै कृषकहरुले विगतमा ग्वालाहरुवाट ठगीमा पर्ने गरेको बताए ।
अर्जुनधारा नगरपालिकाले सञ्चालन गरेको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत सञ्चालित कार्यक्रमबाट दूध संकलन केन्द्र निर्माण गरिएको छ । ५ सय लिटर क्षमताको चिलिङ भ्याट, दूधको गुणस्तर मापनका लागि आवश्यक उपकरण, नियमित थुनेलो जाँचलगायतका सामाग्री तथा सेवा प्रदान गरेपछि किसानहरु खुसी छन् ।
कृषकले उत्पादन गरेको दुध नगरमा सञ्चालित एक मात्र डेरी उद्योग पूर्वार्ध डेरी उद्योगले खरिद गर्ने सम्झौता छ । सहकारी संस्थाद्वारा सञ्चालित डेरी उद्योगले कृषकको दुध किनिदिने र शेयर लाभांससमेत कृषकलाई नै दिने गरि कार्यक्रम सञ्चालन गरिएका छ ।
नगरपालिकाले कृषकका लागि भनेर दुधालु गाई भैँसीका लागि जुका, नाम्लेको औषधीसमेत वितरण गर्ने गरेको नगरपालिकाको पशुपछी विकास शाखाका प्रमुख पदमकुमार राईले जानकारी दिए । अहिले वडा नं. २ मा सञ्चालन भएको मेयर पकेट प्याकेट कार्यक्रमलाई नगरभरी विस्तार गर्ने लक्ष्य रहेको छ ।
नगरपालिकाले भैँसी पाल्ने कृषकहरुलाई प्रतिभैँसी २० हजार रुपैयाँका दरले अनुदान प्रदान गरेर भैँसी पालनको प्रवद्र्धनमा जोड दिएको वडाअध्यक्ष रघुनाथ खनालले बताए ।