पूर्वाञ्चल खबर
काठमाडौं / नेपालमा सम्पन्न तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि भारतले हात पारेको छ ।
आज हल्चोकस्थित एपीएफको मैदानमा भएको खेलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै भारत नयाँ च्याम्पियन बनेको हो । खेलको दोस्रो मिनेटमा भारतका विक्रम प्रताप सिंहले गोल गर्दै भारतलाई सुरुवाती अग्रता दिलाएका थिए । यता बंगलादेशका एसिन अर्फातीले खेलको ४० औँ मिनेटमा गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए । खेलको इन्जुरी समयमा गोल गर्दै भारतले जित निकाल्न सफल भयो । खेलमा बंगलादेश ९ खेलाडी र भारत १० खेलाडीमा सीमित रहेर प्रतिस्पर्धा गरेका थिए । भारतको यो पहिलो उपाधि हो । यसअघि प्रतियोगिताको उपाधि दुईपटक नेपालले उचालेको थियो ।
खेलको २३ औँ मिनेटमा भारतीय खेलाडीमाथि फोउल हुँदा मैदानमा तनावको स्थिति सिर्जना भएको थियो । दुवै टिमका खेलाडीहरु धकेलाधकेल गरिरहँदा रेफ्रिलाई अवस्था साम्य पार्न केही समय लाग्यो । जसमा रेफ्रिले बंगलादेश र भारतका एक–एक खेलाडीलाई रातो कार्ड देखाएका थिए । गोलपछिको सेलिब्रेसनमा जर्सी सारेर टाउकोनेर लगेका बंगलादेशका कप्तान एसिन अराफतलाई रेफ्रीले पहँेलो कार्ड देखाएका थिए । त्यसअघि नै पहेँलो कार्ड पाएका उनी दोहोरो पहेँलो कार्डसँगै रातो कार्ड खान पुगे । तर लामो समय उनी मैदानबाट बाहिर निस्कन मानेनन् । बंगालदेशका खेलाडी र प्रशिक्षकले केही मिनेट रेफ्रीको निर्णयको विरोध गरे पनि अन्ततः उनी मैदानबाट बाहिरिएका थिए।
९ जनामा सीमित बंगलादेशी खेलाडीले अन्तिमसम्म सम्हालिएर खेले पनि इन्जुरी समयमा भने गोल खान पुगेको थियो।