पूर्वाञ्चल खबर
विराटनगर/ श्रम तथा रोजगार कार्यालय विराटनगरका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद संजेलले आफ्नो सरुवाको विषयलाई लिएर चरित्र हत्या गरेको सोही कार्यालयका कारखाना निरीक्षक मणिनाथ गोपले बताएका छन् ।
गोपले विराटनगरमा आज पत्रकार सम्मेलन गरि श्रम अधिकृत संजेललाई सचिबस्तरको निर्णयले सरुवा गरेको विषयलाई लिएर भए नभएको विभिन्न आरोप लगाएर सार्वजानिक रुपमा आफ्नो चरित्रहत्या गरेको उनले बताएका हुन् ।
गैरकानुनी रुपमा सरुवा गरेको भन्दै संजेलले सोमबार विराटनगरमा पत्रकार सम्मेलनमा आफु सरकारी जागिरमा भएको ४० वर्ष हुँदा पनि साइकल किन्न नसकेको तर मेरो अस्सिटेन गोपको कार कहाँबाट आयो?, श्रम कार्यालयको सवारीसाधनको मर्मत र इन्धनमा उनले हिनामिना गरेको सार्वजानिक रुपमा अभिव्यक्त दिएका थिए । सोही विषयलाई लिएर गोपले विना प्रमाण आधरहीन कुरा गरेको भन्दै आफुसँग भएको कार पैत्रिक सम्पत्तिले किनेको गोपले पत्रकार सम्मेलनमा स्पष्टिकरण नै दिन बाध्य भए ।
‘मेरो पारिवारिक पृष्ठभूमि र पैत्रिक सम्पतिको ययार्थ कुरा नबुझी म माथि सार्वजानिक रुपमा आरोप लगाइएको छ,’ गोपले भने, ‘जसले गर्दा मेरो माननी भयो । यस विरुद्ध म कानुनी उपचार खोज्ने अदालत जानेछु । मैले भ्रष्टचार गरेको भए छानविन समिति बनाएर अनुसन्धान गर्दा हुन्छ । एक पैसाँ भ्रष्टचार गरेको देखिए कारवाहीको भागिदार बन्न तयार छु । तर, भए नभएको आरोप लगाएर यसरी बदनाम गर्ने अधिकार कसैलाई छैन,’ उनले पत्रकार सम्मेलनमा भने ।
‘संजेल सर भ्रष्टचार विरोधी अभियान्त हुन त्यो मैले माने । उहाँको काम गर्ने शैली समेत राम्रो छ,’ गोपले भने, ‘यहाँ काम गर्ने कर्मचारीसँग गर्ने व्यवहार राणा शासन जस्तो थियो । कार्यालय समयमा अपशब्द बोलेर हैरान पारेका थिए ।’