मोरङ धनपालथानको उखुबारीमा गाढेको अवस्थामा भेटियो दुईवटा पुरुषको शव
खबर पूर्वाञ्चल
१३ माघ २०७८, बिहीबार १५:१५
16.08k
Shares
विराटनगर / मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको रहेको उखुबारीमा दुईवटा शव भेटिएको छ ।
उखुबारीमा दुईवटा छुट्टा–छुट्टै खाल्डोमा दुई जना पुरुषको शव फेला परेको हो । दुई खाल्डोमध्ये एउटामा बुधबार शव भेटिएको थियो भने अर्काे खाल्डो आज उत्खनन गरिएको थियो ।
आज उत्खनन गरिएको खाल्डोमा पनि शव भेटिएको मोरङका प्रहरी प्रमुख एसपी जनार्दन बिसीले जानकारी दिए । प्रहरीले शव खाल्डोबाट बाहिर निकालेको छैन । अहिले तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली पनि घटनास्थलमा पुगेको छ ।
बुधबार उखु काट्न पुगेका किसानले उखुबारी भित्र खल्डो खनेर पुरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बुधबार नै बेलुका उत्खनन गरेको एउटा खाल्डोबाट प्रहरीले अन्दाजी ३०–३५ वर्षीय पुरुषको शव फेला पारेको थियो ।
झण्डै ४० मिटरको फरकमा रहेको अर्काे खाल्डोमा पनि शंका लागेर उत्खनन गर्दा अन्दाजी ४०–४५ वर्षको जस्तो देखिने अर्काे पुरुषको शव पनि फेला परेको छ ।
उखुबारी स्थानीय गंगा सिंहको हो । शव केही दिन अगाडिको हुनसक्ने मोरङ प्रहरीका प्रमुख एसपी जिसीले बताए । बरामद एउटा शव पोष्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको छ भने अर्काे शव पनि ल्याउने तयारी गरिरहेको प्रहरीले जनाएको छ ।
गाढेको अवस्थामा आज भेटिएको पुरुषको गोजिबाट सिमकार्ड र पर्स पनि फेला परेको छ । शव भेटिएको स्थानमा स्थानीय सर्वसाधरणको ठूलो संख्यामा उपस्थिति रहेको छ ।