वीपीको कोभिड अस्पताललाई चुस्त दुरुस्त राख्न सामाजिक विकास मन्त्री घिमिरेको निर्देशन

खबर पूर्वाञ्चल, २९ आश्विन २०७७, बिहीबार २०:१७

धरान / प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताललाई चुस्त दुरुस्त राख्न पदाधिकारीलाई निर्देशन दिएका छन् ।

कोभिड अस्पतालमा बेतिथि बढेको भन्दै आज मन्त्री घिमिरेको टोली प्रतिष्ठान पुगेको थियो । कोभिड १९ अस्पताल सञ्चालन भएको ४ महिनामानै उपकरणहरु विग्रिनुको कारण र कोरोनाका गम्भिर प्रकारका विरामीहरुले कोभिड अस्पतालमा उपचार नपाउनुको कारणबारे मन्त्री घिमिरेले जानकारी लिए । उनले प्रतिष्ठानका कमजोरीहरु तत्काल सुधार गर्न पदाधिकारीलाई निर्देशन समेत दिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले प्रतिष्ठानको कोभिड १९ अस्पताल सञ्चालन भएको ४ महिनामानै कसरी भेन्टुलेटर विग्रियो भनेर प्रतिष्ठानका पदाधिकारीहरुलाई प्रश्न गरे । प्रतिष्ठानको कोभिड अस्पताल जहा धरानको मात्रै होइन प्रदेश र प्रदेश बाहिरका गम्भिर प्रकृतिका विरामीले उपचार पाउनु पर्नेमा पछिल्लो समय उपचार नपाईरहेको गुनासो आएको भन्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले प्रतिष्ठानको बेतिथिको बारेमा प्रश्न समेत उठाए ।

बैठकमा प्रमुख जिल्ला अधिकारी पोखरेलले बुँदागतरुपमा डेढ दर्जन जति सुझावहरु प्रतिष्ठानका पदाधिकारीहरुलाई दिए । सामाजिक विकास मन्त्रीसंगै प्रतिष्ठानमा मन्त्रालयका सचिव, प्रदेश ल्याब प्रमुख, स्वास्थ्य महाशाखा प्रमुखको सहभागिता रहेको थियो । बैठकमा प्रतिष्ठानको धर्मशालालाई आइसोलेसनबाट पुरै कोभिड अस्पतालको रुपमा विकास गर्नेबारे पनि छलफल भएको बताईएको छ ।

अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढीसकेको र चाडै पुरा हुने उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए । कोभिड अस्पतालको ९ वटा भेन्टिलेटर मध्ये ५ वटा चलिरहेको र बाँकी ४ वटा विग्रिएकोले मर्मत भईरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५