खबर पूर्वाञ्चल
भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा कोशी अस्पतालमा क्यान्सर रोगीहरुको उपचारको लागि थप सेवा विस्तार गरिएको हो ।
सेवा विस्तार कार्यक्रममा दुई पक्षीय सम्झौतामा बिहीबार हस्ताक्षर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेलको उपस्थितिमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक ठा.उज्ज्वल चालिसे र कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.रबिनराज सिंहबीच सेवा विस्तार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार भक्तपुर क्यान्सर अस्पतालका चिकित्सकसहितको टोलिले कोशी अस्पतालमा महिनाको एक दिन सेवा दिनेछन् । त्यस वापतको यातायात तथा खाजा खर्चको व्यवस्थापन कोशी अस्पतालले गर्नुपर्नेछ । बहिरङ्ग, अन्तररङ्ग एवं उपचार सेवा बिरामीले पाउने छन् । जसका लागि कोशीमा क्यान्सर रोगको उपचार सेवाका लागि आवश्यक वातावरण तयार पार्ने, सेवाग्राहीलाई सेवा बारे जानकारी गराउने, कोशीको पूर्वाधार, औजार, उपकरण र जनशक्ति परिचालन गरिने उल्लेख छ ।
भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक चालिसेका अनुसार कोशीमा बिरामी चापको आवश्यकता हेरेर सेवामा सहजीकरण गरिने बताए । उनका अनुसार क्यान्सरमा एकै विधाका चिकित्सकले सबै कुरा हेर्न नसक्ने भएकोले बिरामीको अवस्था र आवश्यकता अनुसार चिकित्सकहरु आउने बताएका छन् । अहिले भक्तपुर क्यान्स अस्पतालका चिकित्सकहरु महिनामा एक पटक कोशीमा आएर विरामीलाई सेवा प्रदान गर्ने उनले बताए । ‘अहिले महिनामा एक पटक चिकित्सकको टोली आउने भनिएको छ । आवश्यकता पर्यो भने तेही अनुसार पनि आइन्छ,’ उनले भने, ‘अहिले सुरुवाती चरणमा ६ जना क्यान्सरका विशेषज्ञ चिकित्सकको टोली आएको छ ।’ यहाँका चिकित्सकसँग गरेर विरामीको आवश्यकत अनुसार क्यान्सरका विशेषज्ञ चिकित्सकको टोली आउने उनले बताए ।
कोशी अस्पतालमा यसअघि पनि क्यान्सरको ओपीडि सेवा मात्रै सुरु भएको थियो । कोशी अस्पतालका मेडिकल अंकोलोजिष्ट डा. रवि कटेथले क्यान्सरका विरामीलाई सेवा दिदै आएका थिए ।
कार्यक्रममा मन्त्री पौडेलले क्यान्सर रोगमा सरकारले गर्ने सहयोगलाई व्यापक बनाउने तयारी स्वरुप पाँचलाखको स्वास्थ्य बीमा कार्यक्रम कार्यन्वयनमा ल्याउन चाहेको बताए । उनले त्यसका लागि स्वास्थ्य सेवा कर लाग्ने क्षेत्रबाट निश्चित रकम जम्मा गर्न लगाउने बताए । यसैगरी स्वास्थ्य सेवालाई जसरी पनि नागरिकको पहुँचयोग्य बनाउनका लागि सरकारले तत्काल गर्नसक्ने कार्यक्रमहरु कार्यन्वयनमा ल्याउन चाहेको बताए ।
तपाईको प्रतिक्रिया