RUMPUM
animated ellipse animated ellipse

बैंकको ब्याजदर बृद्धिविरुद्ध पूर्वका उद्योगी, व्यवसायीले आन्दोलनमा उत्रिने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ कार्तिक २०७९, बिहीबार १७:४९
261
Shares
विराटनगर / बैंकको ब्याजदर चर्को रुपमा बृद्धि भएपछि उद्योगधन्दा सञ्चालनमा समस्या भएको भन्दै प्रदेश १ का उद्योगी व्यवसायीले आन्दोलनको तयारी थालेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ समितिले आज विराटनगरमा आयोजना गरेको ब्याजदर वृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रमपछि प्रदेशभरिका जिल्ला नगर उद्योग वाणिज्य संघको सुझाब अनुसार पहिलो चरणको दबाबमुलक आन्दोलन गर्ने भएका हुन् ।

ब्याजदर घटाउन माग गर्दै पहिलो चरणमा विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा ज्ञापनपत्र बुझाउने, प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र पठाउने र जिल्लास्थित बैंकहरुमा धर्ना दिने कार्यक्रम तय गरिएको छ । उद्योगीहरुले बैंकर्स संघमा पनि ज्ञापनपत्र पठाउने भएका छन् ।

बैंकर्स संघ र राष्ट्रबैंकको मिलेमतोमा मुलुकको अर्थतन्त्र ध्वस्त पार्ने प्रयास भइरहेको भन्दै भेलाका सहभागीहरुले आक्रोश व्यक्त गरेका थिए । बैंकहरुको नाफामा मात्र राष्ट्रबैंक केन्द्रित हुँदा उद्योगधन्दा बन्द हुने अवस्था भएकोले आन्दोलनमा जानुपर्ने अवस्था आएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतको भनाइ छ ।

बैंकको आम्दानी बढिरहने तर उद्योग व्यवसायीहरुले तिर्ने भन्सार राजश्व, ढुवानी लागतदेखि ऋणको ब्याजदर भने बढिरहने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए । यस्तो अवस्था नरोकिए उत्पादन र निर्यातमुखी अर्थतन्त्रलाई निरुत्साहित गरी मुलुकको आर्थिक बृद्धिदरमै नकारात्मक असर पुग्ने उनको भनाइ थियो ।

बैंक तथा वित्तीय संस्थाहरुले एक अंकको ब्याजदर कायम सहमति विपरित हाल आएर १८ प्रतिशतसम्म ब्याज कायम गर्न खोजेकोमा उद्योगी व्यवसायीहरुले बैंकहरुसँग असन्तुष्टि पोखेका हुन् । आर्थिक साझेदारका रुपमा रहेका बैंक तथा वित्तीय संस्थाहरुको व्यवहारले उद्योगी व्यवसायीहरुसँग द्वन्द्व बढ्ने अवस्था रहेको उनीहरुको भनाइ थियो ।

आयातमुखी अर्थतन्त्र भएको मुलुकमा उद्योगी व्यवसायीहरुलाई नै लक्षित गरेर राष्ट्रबैंकले भेदभावपूर्ण नीति अघि सारेका कारण अहिले ३० प्रतिशत उद्योगहरुले मात्रै क्षमता अनुसार उत्पादन गरिरहेका छन् । त्यसमाथि ब्याजदर बढेको बढ्यै गर्दा उद्योगको चाबी सरकारलाई बुझाउनुपर्ने अवस्थाको निर्माण भइरहेको उनीहरुले बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले उद्योग व्यवसाय गर्नेहरु टिक्नै नसक्ने गरी ब्याजदर बढेको भन्दै देशव्यापी रुपमा उद्योगी व्यवसायीहरु एक भएर आवाज उठाउनुपर्ने बताए । उनले कतैबाट आवाज नसुनिएको खण्डमा सडक आन्दोलनमा उत्रिनसमेत बाध्य हुने चेतावनी दिए । राजनीतिक नेतृत्व समेत उद्योगी व्यवसायीको समस्याप्रति संवेदनशिल नभएको उनको भनाइ थियो ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले निजी क्षेत्रका लागि यो समय टर्निङ प्वाइन्ट भएको बताए । आयातमा केन्द्रीत अर्थतन्त्रलाई आत्मसाथ गरेर अघि बढ्नुको विकल्प नभएको बेलामा सिडी रेसियोलाई केही हदसम्म स्थिरता कायम गर्न सके मुलुकमा १०० अर्ब बढि लगानीयोग्य रकम तयार हुनसक्ने उनको भनाइ थियो ।

बजेटममा उत्पादनशिल क्षेत्रका उद्योग व्यवसायमा लाग्ने कम ब्याजदर लाग्ने नीति आएको भएपनि त्यसको कार्यन्वयन गर्न सरकारले नसकेको उनको भनाइ थियो ।

कार्यक्रममा उदयपुर जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष मुना कटुवालले साना तथा मझौला व्यवसायीलाई वाणिज्य बैंकहरुले ज्यादती गरिरहेको गुनासो गरिन् । २ वर्षअघि ६ प्रतिशतमा लिएको ऋणको ब्याजलाई बैंकले क्रमशः वृद्धि गर्दै असोज मसान्तमा १६ प्रतिशत पु¥याएको उनको भनाइ छ । महासंघले देशव्यापी आन्दोलनका कार्यक्रमको घोषणा गर्नुपर्नेमा उनले जोड दिइन् ।

महासंघको प्रदेश १ समितिका उपाध्यक्ष भीम पौडेलले बैंकर्स संघले गरेका हरेक निर्णयलाई राष्ट्रबैंकले भोलिपल्टै पूरा गर्ने गरेको भन्दै त्यसको दुःख साना र मझौला व्यवसायीले पाइरहेको बताए । मोरङको सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण रिजालले महासंघले अब पनि आन्दोलनका कार्यक्रम ल्याएन भने देशभरिका व्यवसायीको महासंघप्रतिको विश्वास सकिने चेतावनी दिए।

झापा उद्योग संघका अध्यक्ष यामबहादुर श्रेष्ठले बैंकहरूले पहिलेका शोषक र सामन्तीको जस्तै गरी ऋणीको जग्गा हडपिरहेको गुनासो गरे । बैंकको मनपरीलाई नियन्त्रण गर्न नसकेनौँ सटर बन्द गरेर खाडी जानुपर्ने दिन आउने सहभागीको भनाइ थियो । सुनसरीको इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र शाहले ऋणको ज्यादतीबाट ग्रस्त हुने सबै क्षेत्रका नागरिकले जिल्लामा तुरुन्त प्रदर्शन सुरु गर्नुपर्ने बताए ।

उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रीतम खड्गीले आफ्नो घरमा असोज मसान्तका दिन बैंकका कर्मचारी विहान ८ बजे धर्ना दिन आएर आफूलाई सामाजिक रूपमा बेइज्जत गरेको आरोप लगाए । सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बढ्दो ब्याज दर विरूद्धमा महासङ्घले प्रभावकारी कार्यक्रम नल्याए जिल्ला र नगरले विद्रोह गर्ने चेतावनी दिए ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले व्यवसायीले आन्दोलन गरेर आफ्ना माग पूरा गर्दा राज्य विफल हुने र नगर्दा उद्यम व्यवसाय धराशायी हुने गम्भीर परिस्थिति आएको बताए । ज्ञापनपत्र र सुझाब बेवास्ता नगरिए आन्दोलनको विकल्प नहुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर