खबर पूर्वाञ्चल
कार्यक्रममा बोल्दै मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले नेपालको अर्थतन्त्रमा देखिएका विभिन्न समस्यालाई सम्बोधन गर्न सुझावहरू पेश गरे । उनले आर्थिक क्षेत्रमा केही सकारात्मक संकेतहरू देखिएको भए पनि समग्रमा अर्थतन्त्रमा निराशाको कालो बादल छाएको बताए ।
‘विदेशी मुद्रा सञ्चिति वृद्धि भई १८ महिनासम्मको आयात धान्न सक्ने स्थिति छ, व्यापार अवस्था ३४६ अर्बभन्दा बढी बचतमा छ, निर्यात ६५ प्रतिशतले र आयात १२ प्रतिशतले वृद्धि भएको छ,’ राठीले भने, ‘तर अर्थतन्त्रमा उत्साहजनक वातावरण भने छैन । यस वर्ष ४ प्रतिशतसम्म मात्र आर्थिक वृद्धि हुने अनुमान गरिएको छ, सरकारी ऋणमा वृद्धि भएको छ र विकास खर्च घटेर चालु खर्च बढेको देखिन्छ ।’ उनले खुला सीमाको अवैध कारोबारले राजस्व संकलनमा कमी आएको र अर्थतन्त्रलाई कमजोर बनाएको उल्लेख गरे । भारतमा दैनिक उपभोग्य वस्तुहरूमा शून्यदेखि १२ प्रतिशतसम्म कर लाग्ने तर नेपालमा भ्याट सहित ३० प्रतिशतभन्दा बढी राजस्व लाग्ने अवस्थाले अवैध कारोबार बढेको बताए ।
विशेष गरी मोरङ–सुनसरी औद्योगिक कोरिडोरमा विशेष आर्थिक क्षेत्र (सेज) घोषणा हुन नसकेकोमा राठीले दुःख व्यक्त गरे । ‘भौगोलिक रूपमा कलकत्ता बन्दरगाहबाट सबैभन्दा नजिक रहेको यस कोरिडोरमा आवश्यक पूर्वाधारहरू विद्यमान छन् र यहाँ निर्यातजन्य उद्योगहरूको अवसर बढी देखिन्छ,’ उनले भने ।
राठीले विराटनगरको अन्तर्राष्ट्रिय सुक्खा बन्दरगाह (आइसीडी) मा रहेको रेल्वे कार्गो पूर्वाधारको संचालन सम्बन्धी भारतसँग भएको सन्धीमा देखिएका कमीहरू सच्याई आयातित वस्तुको लागत घटाउने कार्य अघि बढाउनुपर्ने जोड दिए ।
नेपाल न्यून विकसित मुलुकबाट विकासशील मुलुकको रूपमा स्तरोन्नति हुँदै गरेको सन्दर्भमा, राठीले भविष्यमा नेपालले न्यून विकसित मुलुकका सुविधाहरूबाट वञ्चित हुन सक्ने चिन्ता व्यक्त गरे । उनले नेपालले आफ्ना पहुँचका मुलुकहरूसँग व्यापारिक आधारमा समझदारी पत्रहरू गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
अध्यक्ष राठीले नेपालको कृषि, शिक्षा, जलविद्युत्, प्रविधि र पर्यटन क्षेत्रहरूमा थुप्रै सम्भावनाहरू रहेको बताए । विशेष गरी क्लस्टरको रुपमा क्षेत्रगत विकास गर्न सकिने, जस्तै चिया र अदुवाका लागि इलाम, अलैँचीका लागि पाँचथर, र स्याउका लागि मुस्ताङ÷जुम्ला, जस्ता क्षेत्रहरूलाई विशेष ध्यान दिन आग्रह गरे । शिक्षा क्षेत्रमा, राठीले मेडिकल, सूचना–प्रविधि, जस्ता उच्च शिक्षाका लागि ठूला शिक्षण संस्थानहरू स्थापना गर्न र निजी क्षेत्रलाई पनि विश्वविद्यालय खोल्न दिएर विदेशी विद्यार्थीहरूलाई नेपाल आकर्षित गर्ने वातावरण तयार गर्नुपर्ने सुझाव दिए ।
उद्योग क्षेत्रमा, प्लास्टिक र रबर उद्योगहरूको कच्चा पदार्थको आयात सहज गर्नुपर्ने र टेक्स्टाइल, गार्मेन्ट, कार्पेट र ज्वेलरी उद्योगहरूका लागि विशेष नीति बनाउनुपर्ने आवश्यकतामा राठीले जोड दिए ।
पर्यटन क्षेत्रमा नेपालले ५० लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्यका साथ धार्मिक, साहसिक र प्रकृति पर्यटनमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो । कार्यक्रममा संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । विशिष्ट अतिथिको रूपमा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री उद्धव थापा, कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर र भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई लगायतको उपस्थिति रहेको थियो ।