animated ellipse animated ellipse

नेरु साढे ११ लाख अवैध रकम लिएर भारतबाट नेपाल प्रवेश गर्ने दुई ‘भरिया’ पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२० बैशाख २०७८, सोमबार २०:५५
963
Shares
विराटनगर / चोरबाटो हुँदै भारतदेखि अवैध रकम लिएर नेपाल प्रवेश गर्ने दुई जनालाई नेपालीलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

दोस्रो लहरको कोरोना सङ्क्रमण तीव्र रूपमा फैलिएपछि यसको रोकथाम र नियन्त्रणमा सीमा नका बन्द गरिएको समयमा आइतबार राति नौ बजेतिर विराटनगर–१६ दरैयास्थित सीमाक्षेत्र हुँदै भारतबाट लुकीछिपी अवैध रकम लिएर नेपाल प्रवेश गर्ने दुई जनालाई नेपाल प्रवेश गर्दे गरेको अवस्थामा सशस्त्र प्रहरीको सीमा सुरक्षा गस्ती टोलीले ११ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विराटनगर– १५ हडताली हाटका १८ वर्षीय अभिषेक चौधरी र विराटनगर–१६ का २३ वर्षीय अमद यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) दरैयाको गस्ती टोलीले पक्राउ गरेका यादवको साथबाट पाँच लाख र चौधरीका साथबाट साढे ६ लाख नेपाली रुपैयाँ फेला परेको छ ।

सीमा सुरक्षा गस्ती टोलीले जाँच गर्दा यादव र चौधरीले दुवै खुट्टामा निक्यापमा पाँच सय दरका गड्डीहरू बाँधेको अवस्थामा फेला पारेको थियो । पक्राउ परेका दुवै जना भरिया रहेका हुन् । उनीहरूले भारतदेखि नेपाल ल्याएर गन्तव्यसम्म पु¥याउँदा १ हजार पाँच सय रूपैयाँ प्रतिव्यक्ति पाउने गरेको अनुसन्धानबाट खुलेको छ ।

सशस्त्र प्रहरीले बरामद गरेको रकम हुण्डी कारोबारी हुनसक्ने आशंका गरेको छ । ‘सीमा बन्द गरिएको समयमा पेसेवर भरिया प्रयोग गरी भारतदेखि नेपाल अवैध रूपमा स्रोत नखुलेको पैसा भित्र्याएको छ । यो दोहोरो नागरिकता धारी हुण्डी कारोबारीले पठाएको हुनसक्ने भएकाले त्यहीअनुसार अनुसन्धान गरिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने ।

प्रहरीले एउटै समयमा फरक–फरक ठाउँमा रकम र भरिया पक्राउ गरे पनि एकै व्यक्तिले पठाएको हुण्डीको रकम हुनसक्ने आशङ्का गरिएको छ । चौधरीलाई पक्राउ गरेको ३ सय मिटर दक्षिणमा सीमानाकामा रहेको सहायक १८०–२ नं. सहायक सीमा स्तम्भ नजिकदेखि सशस्त्र प्रहरीको बिओपी दरैयाको टोलीले अवैध रकम भित्र्याउने पेसेवर भरियालाई प्रयोग गरेको देखिएको छ ।

रकम बोकेर आउने दुवै जनाले खुट्टामा बाँधेर ल्याएको पाइएकाले उनीहरु एउटै समूहका पेसेवर भरिया रहेको प्रहरीले जनाएको छ । जारी आईपीएलमा सट्टेबाजबाट हुण्डिमार्फत पठाएको रकम उनीहरुले भारतबाट भित्र्याएको आशंका गरिएको छ ।

‘स्रोत नखुलाई पाँच लाख लिएर त्यसै पनि हिंड्न मिल्दैन, एसपी पौडेलले भने, ‘सीमा नाका बन्द भएको बेला खुट्टामा बाँधेर यसरी अवैध रूपमा ल्याएको बेलामा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले टोलीले बरामद गरेको छ ।’

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालय विराटनगरमा बुझाइएको छ । भन्सारले बरामद रकम जफत गरी पक्राउ परेकालाई धरौटीमा छोड्ने र कानुनी प्रक्रिया अघि बढाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर