पूर्वाञ्चल खबर
गत चैत २५ गते मध्यरातमा आचार्यकै निर्देशनमा गोली प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुले आचार्यकै निर्देशनमा गोली हानेको बयान दिएका छन् । प्रहरीले श्रीनिवास आचार्यलाई पनि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–४ बेल चोकका २९ बर्षिय माधव चौधरी र नवलपरासी गैठाकोट नगरपालिकाका वडा नं ५ का ३२ बर्षिय सन्तोष भन्ने लक्ष्मीराज अधिकारी छन् । चौधरीले आचार्यलाई गोली प्रहार गरेका हुन् । पक्राउ परेका माधवले श्रीनवासकै निर्देशनमा गोली प्रहार गरेको बयान दिएका छन् ।
आफैलाई गोली हान्न लगाएका श्रीनिवासलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । श्रीनवासलाई काठमाण्डौ गौसालाबाट नियन्त्रणमा लिइएको हो । उनीहरु विरुद्ध कर्तब्य ज्यान मुद्धा दर्ता गराएर अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिए ।
मोरङको विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको श्री रामजानकी मन्दिर परिसरमा लाग्ने श्रीमदभागवत सप्ताह पुराणका लागि मूख्य बाचकका रुपमा आएका बाराको सिमरा उपमहानगरपालिका–३ घर भई हाल सुनसरीको बराह नगरपालिका–६ स्थित चक्रघट्टीस्थित लक्ष्मी बैंकटेसको आश्रममा बस्ने २४ वर्षीय श्रीनिवासाचार्यमाथि गत चैत २५ गते बिहानको राति १ बजेर ४५ मिनेटमा गोली प्रहार भएको थियो ।
केही उपाय गर्दा पनि देशलाई हिन्दुराज्य बनाउन नसकिएपछि यस्तो विधि अपनाउनुपरेको बयान गुरु श्रीनिवासाचार्यले प्रहरीलाई दिएको मोरङ प्रहरी प्रमुख एसपी अरुणकुमार विसीले बताए । ‘धर्म र देशको रक्षाका लागि यस्तो गर्नुपरेको हो, केही गर्दा पनि हिन्दु राज्य बनाउन नसकिएपछि जनता र हिन्दु धर्मगुरुहरुलाई उक्साउन मेरै योजनामा आफैँलाई गोली हान्न लगाएको हुँ’, श्रीनिवासाचार्यको बयानबारे एसपी बिसीले पत्रकार सम्मेलनमा भने ।
गोली लागेपछि २१ दिनसम्म बिराटनगरको न्यूरो अस्पतालमा उपचार गराएपछि श्रीनिवासाचार्य केही दिनअघि काठमाडौँ आएका थिए । गोली लागेको घाउ निको भएपछि उनी काठमाडौँ गएका थिए ।