AArya
RUMPUM
animated ellipse animated ellipse

शिक्षादीप कलेजमा व्यवस्थापन संकायका ३४५ विद्यार्थीलाई भव्य स्वागत गर्दै अभिमुखीकरण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

७ श्रावण २०८२, बुधबार १७:१४
855
Shares
विराटनगर / विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले कक्षा ११ मा व्यवस्थापन संकायमा भर्ना भएका ३४५ जना विद्यार्थीलाई भव्य कार्यक्रमको आयोजना गरी स्वागत गर्दै अभिमुखीकरण सम्पन्न गरेको छ ।

आज सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्रामा सफलताको शुभकामना दिँदै, शिक्षा र सीपलाई समायोजन गर्नुपर्ने सन्देश दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालय उपकुलपति प्राडा विजुकुमार थपलियाले नयाँ विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै शिक्षा केवल प्रमाणपत्रका लागि नभई जीवन उपयोगी सीप हासिल गर्ने अवसरको रूपमा लिन आग्रह गरे । ‘रोजगारीका अवसर बढाउन हामीले संस्कारसहितको सीपमुखी शिक्षालाई आत्मसात गर्नुपर्छ,’ उनले भने ।

कार्यक्रममा शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले कलेजले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए । ‘हामी शैक्षिक उत्कृष्टता, नैतिकता र सामाजिक उत्तरदायित्वलाई शिक्षाको मूल आधार बनाउँछौं,’ उनले भने ।

सीए किन्जल पोखरेलले कार्यक्रममा विद्यार्थीहरूलाई शुभकामना दिँदै व्यवस्थापन अध्ययनले नेतृत्व, सञ्जाल निर्माण र व्यावसायिक सोच विकास गर्ने अवसर दिने बताए ।

कलेजका मुख्य निर्देशक शैलेन्द्र शिवाकोटीले शिक्षादीप कलेजले विगतका उत्कृष्ट शैक्षिक नतिजा, अनुशासन र विद्यार्थीको समग्र विकासका कारण विद्यार्थी र अभिभावकको पहिलो रोजाइ बन्न सफल भएको बताए । ‘हामी नतिजामै होइन, संस्कार, व्यवहार र व्यवहारिक सीपमा पनि विश्वास गर्छौं,’ उनले भने ।

कार्यक्रमको सञ्चालन कलेजका व्यवस्थापन संकाय को अर्डिनेटर शंकर भट्टराईले गरेका थिए । कार्यक्रमको अध्यक्षता कोशी प्रदेश सभा सदस्य तथा कलेज व्यवस्थापन समितिका अध्यक्ष भीम पराजुलीले गरेका थिए । अध्यक्ष पराजुलीले शिक्षादीप कलेजले विद्यार्थीलाई नैतिक शिक्षासँगै व्यवहारिक र रोजगारमुखी शिक्षातर्फ उन्मुख गरिरहेको जानकारी दिए । ‘हामी विद्यार्थीको भविष्य निर्माणका लागि आधुनिक शैक्षिक प्रविधि, अनुभवी शिक्षक र अनुशासित वातावरण प्रदान गरिरहेका छौं,’ उनले भने ।

सो अवसरमा २३ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप रमाइलो बनाएका थिए । विद्यार्थी, शिक्षकको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा अभिमुखीकरणसँगै शिक्षा, नेतृत्व र संस्कारबारे महत्वपूर्ण सन्देश प्रवाह गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर