AArya
RUMPUM
animated ellipse animated ellipse

देशभरका साहित्यकार विराटनगरमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ फाल्गुन २०७४, शुक्रबार १६:३३
3
Shares
विराटनगर,४ फागुन । ऐतिहासिक नगरी विराटनगरमा देशभरका साहित्यकार जम्मा भएका छन् । नेपाली लेखक संघ मोरङले आयोजना गरेको विराट लेखक सम्मेलनमा सहभागी हुन मेचीदेखि महाकालीसम्मका साहित्यकारहरु विराटनगरमा जम्मा भएका हुन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा आयोजित कार्यक्रममा संघीयतामा साहित्यको अवस्थाका विषयमा छलफल भएको छ । सम्मेलनको उद्घाटन प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरेले गरे । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको पहिलो दिन संघका ७ वटै प्रदेशका संयोजकहरुले प्रदेशको साहित्यिक अवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गरे ।

१ नम्बर प्रदेशका संयोजक प्राज्ञ विवश पोखरेलले ‘ प्रदेश १ मा भाषा र साहित्यको स्थिति’, २ का संयोजक गोपाल अश्कले ‘प्रदेशको संघीय अवस्थिति र अबको आवश्यकता’ ४ का संयोजक डा. कुशुमाकर न्यौपानेले ‘४ नम्बर प्रदेशको भाषा तथा साहित्य’, ५ नम्बरका उत्तमकृष्ण मजगैयाले ‘५ नम्बर प्रदेशको संक्षिप्त साहित्य चिनारी’, ६ का संयोजक मोतीराम बमले ‘भाषा साहित्यमा प्रदेश ६ हिजो र आज’ र ७ का संयोजक रामलाल जोशीले ‘सुदूरपश्चिममा साहित्यको विधागत विकासको अवस्था’ विषयक कार्यपत्र प्रस्तुत गरे ।

त्यस्तै विचार प्रस्तुतिसत्रमा वरिष्ठ साहित्यकार गोविन्दराज भट्टराईले लेखक स्वतन्त्रता र डा. टंक न्यौपानेले १ नम्बर प्रदेशको मातृभाषा र संस्कृतिको अवस्था विषयमा बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गरेको संघका मोरङ अध्यक्ष गोकुल अधिकारीले जानकारी गराए । लेखक संघका केन्द्रीय महासचिव रत्नमणि नेपालले सांगठानिक अवधारणापत्र प्रस्तुत गर्दै संघलाई सबै जिल्लामा विस्तार गर्ने जानकारी दिए । उनले हालसम्म ५५ भन्दा बढी जिल्लामा संगठन विस्तार भइसकेको बताए । कार्यक्रममा साहित्यकार कृष्ण प्रधान र नवराज पुडासैनीलाई सम्मान गरियो ।

उद्घाटन समारोहमा प्रज्ञा पतिष्ठानका उपकुलपति डा. विष्णुविभू घिमिरे, भाषाशास्त्री बालकृष्ण पोखरेल, कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरका मेयर भीम पराजुली, वरिष्ठ साहित्यकार डा. तुलसी भट्टराई, दधिराज सुवेदीलगायतले भाषा साहित्यको विकासका लागि प्रज्ञा प्रतिष्ठानलाई पनि संघीयता ढाँचामा विस्तार गर्नु पर्नेमा जोड दिए ।
शनिबारसम्म चल्ने सम्मेलनमा प्रदेशः भाषा साहित्य, वृहत कवि सम्मेलन, विचार गोष्ठी, नाटक मञ्चनलगायतका कार्यक्रम समावेश गरिएको संघका मोरङ सचिव मीनकुमार नवोदितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर