खबर पूर्वाञ्चल
‘५ वर्ष अगाडि जितेर गएकाले यहाँ खोइ के गरे ? यहाँ न ढल छ, न सडक छ केही छैन, अहिले कुन मुखले भोट माग्न सकेको होला,’ विराटनगर १९ खापटोलकी कमली ऋषिदेवले भनिन्, ‘उतिबेला भोट देउ घर दिन्छु, जग्गा दिन्छु भनेका थिए, जितेर गयो, काठमाडौंमा बस्यो, हाम्रो समस्या जस्ताको तस्तै ।’
विकास निर्माणको अभाव, गरिवि र बेरोजगारी समस्या, वर्षामा बाढी, हिउँदमा आङ ढाक्ने कम्मलको अभावले ग्रस्त विराटनगरको देहातका जनताले उम्मेदवारलाई यसपटक ¥याख¥याख्ती पारेका छन् ।
साढे ३ महिना अगाडि आएको बाढीको पीडा अझै उनीहरुले विर्सेका छैनन् । त्रिपाल र चिउराले दिन कटाएका छन् । आचारसंहिताको नाममा सरकारले दिने भनेको पैसा पनि उनीहरुले पाएका छैनन् । जसोतसो फुसको छानो लगाएर बाँसको टाटीले बेराबारा गरेको घर बाढीले बगाइदियो । अब जाडो याम आयो । उनीहरुलाई सुत्ने, बस्नेको समस्या उस्तै छ ।
‘५० वर्षदेखि यही ठाउँमा बसोबास गरिरहेका हामीलाई यतिका समय आश्वासनले नै भोट दिइरहेका छौं,’ विराटनगर १९ खापटोलका बिल्टा ऋषिदेवले भने, ‘अहिले पनि कोही हलो दिन्छु भन्छन्, कोही कुर्सी किनिदिन्छु भन्छन् त्यसले हाम्रो समस्या हल हुँदैन ।’ बिल्टा ऋषिदेवको घरमा ९ जनाको परिवार छ । उनको घर जग्गामा दुई कोठा छ । ‘पालै पालो सुत्नु पर्छ, दुई–तीनवटा कम्मल छ,’ सानो छाप्रो देखाउँदै उनी गुनासो गर्छन्, ‘छोरा बुहारी काहाँ सुत्ने, आफू कहाँ सुत्ने, केटाकेटीको जाडो कसरी छल्ने, जहिल्यै समस्या हुन्छ ।’
सरकारले कम्तीमा बाँसको भएपनि ४ कोठा भएको घर बनाइदिए आफूहरुलाई सहज हुने उनको भनाइ छ । उनीजस्तै सो टोलमा ३ सय बढी ऋषिदेव दलित वस्ती रहेको छ । सबैको हातमुख जोड्ने विषयमै समस्या छ । शिक्षाको अवस्था कमजोर रहेको सो क्षेत्रमा नेताहरु त्यहाँका ठेकेदारलाई रिझाएर पैसाको बलमा भोट किन्न लाग्छन् । यसअघि बद्री मण्डल, महेश आचार्यलगायतले जितेको क्षेत्र हाल मोरङको ४ नम्बर क्षेत्र छ । त्यहाँबाट बाम गठबन्धनका अमनलाल मोदी र कांग्रेसका महेश आचार्यबीच प्रतिस्पर्धा छ ।
यता, विराटनगर ४ को इक्राही दक्षिणी क्षेत्रको दलित तथा यादव वस्तीमा विकासको जग अझै बसेको छैन । धुलाम्ये सडक छ, ढल छैन, पानीको उचित निकास छैन । विराटनगर एयरपोर्ट हुँदै उक्त बस्तीमा पसेको केसलीया खोलाले १० दिनसम्म सो क्षेत्र डुबानमा परेको थियो ।
‘डुबानका कारण घर लग्यो, धान चामल डुबायो, गाईबस्तु बगायो, सरकारले सहयोग गरेन,’ स्थानीय नारद यादवले भने, ‘दिनदिनै भोट माग्नेहरुलाई विकास गर्न र इमान्दार हुन सुझाव दिने गरेको छु ।’ विराटनगर ४ मोरङको क्षेत्र नम्बर ६ मा पर्छ यहाँबाट कांगेसका शेखर कोइराला र बाम गठबन्धनका तर्फबाट लालबाबु पण्डितको प्रतिस्पर्धा छ ।