विराटनगर / प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा आजदेखि प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर एकल छात्रा तर्फका खेलहरू भएको छ । जुनियर छात्र एकल तर्फ विराटनगरको एभरेष्ट स्कुल र बुढानिलकण्ठ स्कुल फाइनलमा पुगेको छ ।
एभरेष्ट स्कुलका सुशान्त मेहताले सगरमाथाका सोनु महतोलाइ ३–१ सेट अन्तरले पराजित गर्दै एभरेष्ट फाइनलमा पुगेको हो ।त्यसैगरी बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठले जेसी बाल सदनका रिशित साहलाइ ३–१ सेटले पराजित गर्दै बुढानिलकण्ड फाइनल यात्रा सुरक्षित गरेको छ ।
जुनियर छात्रा तर्फ सेन्ट मेरिज स्कुलको पूर्ण दबदबा रह्यो । सेमिफाइनलमा सेन्ट मेरिजका आर्नवी भट्टराई, स्वीकृति भट्टराई, अपाला साह र बिज्ञता थापा सेमिफाइनल प्रवेश गरेका छन् । भोली सब–जुनियर छात्र र सब–जुनियर छात्रा सिङल्स तर्फका खेलहरु हुने मिल्स फार्क क्लबका अध्यक्ष धनकुमार लामाले जानकारी दिए । खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगरका दुई दर्जन विद्यालयबाट सय भन्दा बढी खेलाडी विद्यार्थीहरुको सहभागि रहेको छ ।
प्रतियोगिताको उद्घाटन विराटनगर १६ का वडाअध्यक्ष उद्धबकुमार भुजेलले गरे ।
तपाईको प्रतिक्रिया