खबर पूर्वाञ्चल
संसद नै भंग भइसक्दापनि नेपाली कांग्रेसका प्रमुख सचेतक, सचेतकदेखि अन्य सदस्यहरुले समेत व्यवस्थापिका संसद सुविधाको उपभोग गरिरहेको टिप्पणी भइरहेका बेला नेकपा एमालेका प्रमुख सचेतक ढकालले संसद सुविधा व्यवस्थापन शाखाबाट कुनै बक्यौता नरहेको क्लिन चिट पाएका छन् ।
संसद हुँदा पाएको कुटनितिक राहदानी ( रातो पासपोर्ट ) सरकारी गाडिलगायतका सुविधाको अझै अधिकांशले उपभोग गरिरहेका बेला ढकालले सवै बुझाएको चिट पाएका हुन् । स्रोतका अनुसार अहिलेसम्म ढकाल लगायत करिब ३० जनाले मात्र बहालमा रहँदा उपभोग गरेको सुविधा फिर्ता गराएका छन् ।
ढकाल दोस्रो संविधानसभाको निर्वाचनमा तेह्रथुमको निर्वाचन क्षेत्र बाट समानुपातिक तर्फको संविधान सभा सदस्य बनेका थिए । त्यसपछि संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका संसदको सदस्य ढकालका नाममा संसद सुविधा व्यवस्थापन शाखाले उनको नाममा कुनै प्रकारको जिन्सी वा नगदी बुझाउन बाँकी बक्यौता नदेखिएको व्यहोराको चिट दिएको हो । संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभाको निर्वाचनको मनोनयन दर्ता भएसँगै व्यवस्थापिका संसदको म्याद सकिएको छ । असोज २८ गते म्याद सकिएको व्यवस्थापिका संसदका सम्पूर्ण सदस्यहरुले एक साताभित्र उपभोग गरिरहेका सुविधा फिर्ता गरिसक्नुपर्ने प्रावधान छ ।