RUMPUM
animated ellipse animated ellipse

मोरङमा ६ निर्वाचन क्षेत्र, कुन पार्टी कहाँ बलियो ?

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ भाद्र २०७४, शनिबार ०७:३४
3
Shares
विराटनगर, ३१ भदौ /  मंसिर २१ गतेलाई तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि ६ वटा क्षेत्र निर्धारण गरिएको मोरङमा दलहरुले चुनावी तयारी सुरु गरेका छन् । दोस्रो चरणमा तोकिएको निर्वाचनको लागि दलहरुले आन्तरिक तयारी सुरु गर्दा चुनावबारे विभिन्न आँकलनहरु सुरु भएको छ ।

साविक ९ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा नेपाली कांग्रेसले ५, नेकपा एमालेले ३ र माओवादी केन्द्रले १ निर्वाचन क्षेत्रमा विजयी भएको थियो । अहिले कायम गरिएको निर्वाचन क्षेत्रलाई असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आधारमा विश्लेषण गर्ने हो भने क्षेत्र नम्बर १, २ र ३ मा प्रमुख ३ दल तथा क्षेत्र ४, ५ र ६ मा प्रमुख तीन दलसहित संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरम प्रतिस्पर्धामा आउने देखिएको छ ।

वर्तमान सरकारले गठन गरेको क्षेत्र निर्धारण आयोगले नेपाली कांग्रेसको अनुकूल हुनेगरी क्षेत्र निर्धारण गरेको आरोप लागिरहँदा मोरङका ६ निर्वाचन क्षेत्रमध्ये स्थानीय तह चुनावको वडा अध्यक्षको मत परिणाम जोड्दा कांग्रेस ४ वटा निर्वाचन क्षेत्रमा र एमाले २ वटा क्षेत्रमा अगाडि देखिएको छ । क्षेत्र निर्धारण आयोगमा रहेका मोरङका पूर्व प्रमुख जिल्ला अधिकारी रहिसकेका गणेशराज कार्कीले कांग्रेस अनुकूल क्षेत्र निर्धाण गरिदिएको आरोप अन्य दलले लगाउँदै आएका छन् ।

जिल्लाको पूर्वपश्चिम राजमार्गदेखि उत्तरमा रहेका ४ वटा स्थानीय तह केराबारी, मिक्लाजुङ, लेटाङ गाउँपालिका तथा उर्लाबारी नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा स्थानीय तहका ३७ वटा वडा रहेका छन् । ती वडामा गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेले सबैभन्दा बढी २४ हजार २ सय ८ मत ल्याएको छ । यसैगरी कांग्रेसले एमालेभन्दा ५ सय ८२ कम अर्थात् २३ हजार ६ सय २६ मत पाएको छ भने तेस्रो दल माओवादी केन्द्रले दुईतिहाइ कम ८ हजार ९ सय ६२ मत ल्याएको छ ।

यसअघिको संविधानसभामा एमालेले जितेको ८ नम्बर क्षेत्रको केराबारी र कांग्रेसले जितेको ९ नम्बर क्षेत्र समेटिएको १ नम्बर क्षेत्रको मिक्लाजुङबाहेक ३ वटा स्थानीय तहको प्रमुख कांग्रेसले जितेको भएपनि वडाअध्यक्षहरुको मतको आधारमा एमाले अगाडि देखिएको हो ।

जिल्लाको पूर्वी दक्षिणी क्षेत्र समेटिएको क्षेत्र नम्बर २ मा रतुवामाई र सुनवर्षी नगरपालिकासहित कानेपोखरीको १, २, ३, पथरीशनिश्चरेको ५ र ६ तथा रंगेलीको १, २, ३, ८ र ९ नम्बर वटा समेटिएर बनेको क्षेत्रमा २९ वटा वडा रहेका छन् । ती वडामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस २२ हजार ३ सय ५० मतसहित पहिलो बनेको छ भने नेकपा एमालेले १९ हजार ४१ तथा माओवादी केन्द्रले ११ हजार २ सय ३२ मत पाएका छन् ।

क्षेत्र नम्बर ३ मा पथरी शनिश्चरेको १, २, ३, ४, ७, ८, ९ र १०, कानेपोखरीको ४, ५, ६ र ७, बेलबारीको १, २, ३, ४, १० र ११ तथा सुन्दरहरैंचाको १, ८, ९, १०, ११ र १२ वडा गरी २६ वटा वडा समेटिएका छन् । सो क्षेत्र भने नेकपा एमालेको अनुकूल हुनेगरि निर्माण गरिएको देखिएको छ ।

स्थानीय तह निर्वाचनमा सो क्षेत्रका वडाध्यक्षमा एमालेले २९ हजार १ सय ६२ मत प्राप्त गरेको थियो भने कांग्रेसले करिब ८ हजार कम अर्थात २१ हजार ८७ मत मात्र प्राप्त गरेको थियो । सो क्षेत्रका वडामा माओवादीको मत १३ हजार ४ सय ९५ रहेको थियो ।

जिल्लाको विराटनगर महानगरपालिकाको १, २, ३, ८, १० र १९ सहित बेलबारीको ५, ६ र ७, ग्रामथान र कटहरी गाउँपालिका समेटिएको क्षेत्र नम्बर ४ मा २३ वटा वडा रहेका छन् । सो क्षेत्रका वडा अध्यक्षको मत अनुसार नेपाली कांग्रेसले १७ हजार ७ सय ११, एमालेले १६ हजार ६ सय ४४, लोकतान्त्रिक फोरमले ७ हजार ४ सय ९६ र माओवादी केन्द्रले ६ हजार ४ सय ६१ मत पाएका थिए ।

जिल्लाको पश्चिमा दक्षिण मधेशी बाहुल्य रहेको क्षेत्र नम्बर ५ मा विराटनगरका १३, १४, १५, १६, १७ र १८, रंगेली नगरपालिकाका ४, ५, ६ र ७ नम्बर वडासहित धनपालथान र जहदा गाउँपालिकाका २४ वडा समेटिएको छ । यसअघिको संविधानसभामा माओवादी केन्द्रका शिवकुमार मण्डल र कांग्रेसका अमृत अर्यालले जितेको क्षेत्र मिलाएर बनाइएको सो क्षेत्रमा गत स्थानीय चुनावमा माओवादी, कांग्रेस र संघीय समाजवादी फोरमले धेरै वडामा जितेका थिए । तर, मत परिणामको आधारमा सो क्षेत्रका वडाध्यक्षमा कांग्रेसले १३ हजार ३ सय ६९, संघीय समाजवादी फोरमले १२ हजार ९ सय ५४, माओवादी केन्द्रले १० हजार ९ सय ८१ र एमालेले ८ हजार ९ सय ७९ मत पाएको थियो ।

यसअघिको संविधानसभामा कांग्रेसका शेखर कोइरालाले जितेको ७ नम्बर क्षेत्रमा सुन्दरहरैंचाका ६ वटा वडा मिसाएर बनाइएको क्षेत्र नम्बर ६ मा विराटनगरका ४, ५, ६, ७, ९, ११ र १२, सुन्दरहरैंचाका २, ३, ४, ५, ६ र ७ नम्बर वडासहित बुढीगंगा गाउँपालिका गरी २० वटा वडा समेटिएको छ । सो क्षेत्रका वडा अध्ययक्षहरुको मतअनुसार कांग्रेस २० हजार ९ सय ४० मतसहित पहिलो छ भने एमाले १७ हजार ९ सय ८२, माओवादी केन्द्र ८ हजार ३ सय ९८, फोरम लोकतान्त्रिक ८ हजार ४८ र संघीय समाजवादी फोरमले ५ हजार ३ सय २८ मत ल्याएका थिए ।

स्थानीय तहमा जिल्लामा कांग्रेस हावी भएको भएपनि वडाहरुमा एमाले पनि बलियो रुपमा उपस्थित रहेकोले जिल्लाको आगामि चुनाव पनि कांग्रेस र एमालेकै बढी प्रतिस्पर्धा हुने देखिएको छ । विराटनगर जोडिएका र दक्षिणी क्षेत्रमा भने माओवादीसहित मधेशवादी दलहरु प्रतिस्पर्धामा आउँदा ती क्षेत्रमा एमाले कमजोर देखिन्छ ।

क–कस्को चर्चा ?
निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरुभित्र उम्मेद्वारको चर्चा र लविङ सुरु भइसकेको छ । प्रमुख दलहरु भित्र ६ वटै निर्वाचन क्षेत्रमा को–को उम्मेद्वार बन्ने भन्ने करिब निश्चित जस्तै रहको कार्यकर्ताहरू बताउँछन् ।

नेपाली कांग्रेसबाट क्षेत्र नम्बर १ मा पार्टीका जिल्ला सभापति तथा हालका सांसद डिकबहादुर लिम्बू उम्मेदवार बन्ने निश्चित रहेको कांग्रेस स्रोतको दाबी छ । यसैगरी क्षेत्र नम्बर २ बाट सुजाता कोइराला र लक्ष्मण बस्नेत दाबेदार रहे पनि कोइराला नै उम्मेद्वार बन्ने सम्भावना देखिएको छ । क्षेत्र नम्बर ३ बाट कांग्रेस नेतृत्वले नोबेल अस्पतालका संचालक सुनिल शर्मालाई उम्मेद्वार बनाउने तयारी गरेपनि कार्यकर्तामा असन्तुष्टि देखिएको छ । क्षेत्र नम्बर ४ बाट महेश आचार्य, क्षेत्र नम्बर ५ बाट अमृत अर्याल र क्षेत्र नम्बर ६ बाट डाक्टर शेखर कोइरालाको नाममा कुनै विवाद नहुने कांग्रेस स्थानीय नेताहरु बताउँछन् ।

यता एमालेबाट क्षेत्र नम्बर १ मा मानबहादुर श्रेष्ठ, डाक्टर शिवमाया तुम्बाहाम्फे, घनश्याम खतिवडा, क्षेत्र नम्बर २ बाट सांसद तथा पार्टीको जिल्ला सचिव ऋषिकेश पोखरेल, क्षेत्र नम्बर ३ बाट सांसद चण्डी राई र मोरङ एमालेका पूर्व उपाध्यक्ष डिपी राई र नेता रामकुमार बस्नेत दाबेदार छन् । सो क्षेत्रमा एकले अर्कोलाई अस्वीकार गर्ने अवस्था देखिएमा  एमाले महासचिव ईश्वर पोखरेल उम्मेद्वार बन्न आउने सम्भावना रहेको एमालेभित्र चर्चा पनि छ ।

यस्तै क्षेत्र नम्बर ४ मा एमालेबाट महेश रेग्मी र महेश भट्टराई, क्षेत्र नम्बर ५ बाट  बालेश्वर कामत र क्षेत्र नम्बर ६ बाट लालबाबु पण्डित, गुरु बराल उम्मेद्वार हुने चर्चा छ ।

माओवादी केन्द्रबाट क्षेत्र नम्बर १ मा कूलप्रसाद साम्बा (कुशल लिम्बू), क्षेत्र नम्बर २ गणेश उप्रेती (सुशील), क्षेत्र नम्बर ३ मा सावित्रीकुमार काफ्ले, क्षेत्र नम्बर ४ मा विजय विश्वास (थारु), क्षेत्र नम्बर ५ मा आपूर्तिमन्त्री शिवकुमार मण्डल र क्षेत्र नम्बर ६ मा सांसद अमनलाल मोदी उम्मेद्वार बन्ने सम्भावना देखिन्छ ।

यस्तै मधेश बाहुल्य रहेको क्षेत्र नम्बर ५ मा यसअघि संघीय समाजवादी फोरमबाट उपेन्द्र यादव उम्मेद्वार रहे पनि यस पटक उनी सुनसरीबाट उम्मेदवार बन्ने सम्भावना रहेकोले जयराम यादव उम्मेद्वार बन्ने सम्भावना देखिएको छ । लोकतान्त्रिक फोरमबाट क्षेत्र नम्बर ५ मा भीम राजवंशी र भक्ती माझी उम्मेद्वार हुने देखिएको छ भने क्षेत्र नम्बर ६ मा पार्टी अध्यक्ष विजयकुमार गच्छदारको चर्चा रहेपनि उनी सुनसरीबाट उमेद्वार बन्ने सम्भावना रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार