खबर पूर्वाञ्चल
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आज मुल्य बृद्धिविरुद्ध बन्दको आयोजना गरेसंगै यातायात, शैक्षिक तथा औद्योगिक क्षेत्रमा प्रंभाव परेको छ । बन्दका कारण विराटनगरबाट चल्ने लामो तथा छोटो दुरीको सार्वजनिक सवारी ठप्प रहेका छन् । बन्दबाट प्रभावित भएपछि छोटो दुरीमा रहेको धरान, दुहबीसम्म पनि सार्वजनिक यातायात चल्न नसकेको यातायात ब्यवसायीले बताएका छन् ।
इटहरीस्थित प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले बन्दका कारण तराई क्षेत्रमा मात्र नभएर पहाडी जिल्लामा सार्वजनिक सवारी साधन प्रभावित भएकाछन् । सामान्य रुपमा नीजि सवारी चलेपनि लामो दूरीका सवारी साधनलाई ‘स्कर्टिङ’को व्यवस्था गर्दै प्रहरीले गन्तव्यसम्म पुर्याउने काम गरिरहेको उनको भनाई छ ।
यातायात बन्द हुँदा अधिकांश यात्रुहरु मर्कामा परेकाछन् । ओखलढुंगास्थित चम्पादेवी ककनी दर्शनका लागि पुगेका विराटनगरका रोहित पौडेलले बन्दका कारण दुःख पाएको बताएका छन् । बन्दले सवारी नचल्दा उनी विभिन्न मानिससंगै मोटरसाईकलबाट सहयोग माग्दै फर्कदै गरेको बताउँछन् ।
त्यसैगरि, बन्दले ज्ञान र चेतनाकोद्धार समेत बन्द गराउने विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला संयोजक अमलेश कर्णले बताए । बन्दकर्ताले बन्दको क्षति अबको १० वर्षपछि अनुभूति गर्ने बताएका केन्द्रीय सदस्य कर्णले बन्दबाट जनताले दुःख मात्र पाउने बताए । पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धिको विरोध गर्ने अन्य विकल्प हुने बताएका उनले सबै विरोधको अन्तिम विन्दु बन्द हुन नसक्ने जानकारी दिए। त्यसैगरि, कोरोना महामारीले लामो समयदेखि असर गरिरहेको शैक्षिक क्षेत्रमा समेत बन्दको प्रभाव परेसँगै विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ ।
सुनसरी मोरङ औद्योगिक कोरिडोर, विराटनगर कटहरी औद्योगिक कोरिडोरमा समेत बन्दले आंशिक प्रभाव पारेको छ । विराटनगर बजारमा बन्दको असर देखिएको छैन । शैक्षिक क्षेत्र बन्द रहेपनि बजार तथा वित्तीय संस्था खुला रहेकाछन् ।
इन्धन केन्द्र पेट्रोल पम्प बन्दले ठप्प भएपनि सरकारी कार्यालयहरु भने पूर्ववत् रूपमै सञ्चालनमा आएको बताइएको छ । अर्कोतर्फ, हालसम्म प्रदेश १ मा बन्दका कारण क्षतिको खबर नआएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक अरुणकुमार विसीले जानकारी दिए । उनका अनुसार सुरक्षा व्यवस्था कडा पारेर सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।