एमालेसहितका विपक्ष दलहरुले दिएका अभिव्यक्तिले मुलुकको अखण्डता र जातीय एकता कम्जोर-यादव
पूर्वाञ्चल खबर
७ पुष २०७३, बिहीबार १७:१९
3
Shares
फाइल तस्वीर
७ पुस,काठमान्डौं/ संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संसोधन प्रस्तावविरुद्ध एमालेसहितका विपक्ष दलहरुले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव राष्ट्र हितमा नरहेको भन्ने एमाले सहितका विपक्ष दलहरुको अभिव्यक्ति मुलुकको राष्ट्रिय अखण्डता बिगार्ने गरी आएको भन्दै आक्रोश व्यक्त गरेका हुन ।
काठमाडौको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा आज बसेको मोर्चाको बैठकले राष्ट्रियताको नाममा विपक्षी दलहरुले राष्ट्रिय अखण्डता विरोधी गतिविधि गरिरहेको निष्कर्ष निकालेको हो ।
बैठकले संविधान संशोधन प्रस्ताव संशोधनसहित पारित गराउन सरकार लागि नपरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेको छ । बैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन प्रस्तावविरुद्ध प्रतिपक्षी दलहरुले दिएका अभिव्यक्तिले मुलुकको अखण्डता र जातीय एकता कम्जोर हुने भन्दै आपत्ति जनाएका छन् ।
उनले मधेसी, आदिबासी र अल्पसंख्यकका विरुद्धमा दिएका अभिव्यक्तिले मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने जिकिर पनि गरेका छन् । अध्यक्ष यादवले आफूहरु सडक आन्दोलनमा रहेका बेलामा संसदमा आएर छलफल गर्न आग्रह गर्ने दलहरु समस्या समाधानका लागि संविधान संशोधनको प्रस्ताव ल्याउँदा आफैं आन्दोलनमा जानु दुःखद भएको टिप्पणी पनि गरे ।
उनले प्रतिपक्षीले बिरोधका नाममा संसद बैठक अवरुद्ध गरेर संसदीय प्रक्रिया अलपत्र पार्न नहुने तर्क पनि गरेका छन् । विपक्ष एमालेसहितका दलहरुले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावले मुलुकलाई टुक््रयाउनेसम्मको चेतावनी दिएपछि त्यसप्रति मोर्चाले आपत्ति जनाएको हो ।