अर्थतन्त्रमा बैंक भन्दा सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण
पूर्वाञ्चल खबर
२ पुष २०७३, शनिबार १८:१८
3
Shares
२ पुस, विराटनग / नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले ग्रामिण उत्पादनमुखी अर्थतन्त्रमा बैंक भन्दा सहकारी संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
मोरङको कर्सियामा उमा गौरी कृषि सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभामा बोल्दै डेपुटी गर्भनर शिवाकोटीले उत्पादनको क्षेत्रमा सहकारीको लगानी महत्वपूर्ण रहेको बताए । उनले देशभर नै सहकारीले ग्रामिण सामाजिक एकता र सद्भाव कायम गराउँदै उत्पादनमुखी क्षेत्रको लगानीमा जोड दिएको बताए ।
सहकारीको योगदानकै कारण ग्रामिण जनतालाई बैकिङ प्रणालीमा जोड्न सहज भएको बताए । उनले नीजि बैंक भन्दा सहकारीको माध्यमबाट गाउँमा हुने कारोबार महत्वपूर्ण मानिएको बताएका छन् । देशभर सञ्चालनमा रहेका ३३ हजार २ सय ९ सहकारीको ६३ अर्ब शेयर पूँजी, दुईसय २ अर्ब चुक्ता पूँजी र एकसय ८८ अर्ब लगानी रहेको सहकारीले ५८ हजारलाई रोजगारी दिई रहेको उनले जानकारी दिए ।
साधारणसभाको उद्घाटन कार्यक्रममा मोरङ क्षेत्र नम्बर एकबाट निर्वाचित एमालेका सांसद एवं सहकारीका सल्लाहाकार ऋषिकेश पोखरेलले सहकारीको माध्यमबाट सामान्य आर्थिक आय भएका व्यक्तिको जीवन परिवर्तन हुनेमा विश्वास व्यक्त गरेका छन् । उनले आगामी एकवर्ष भित्रमा सहकारीमा एकहजार तीन सय शेयर सदस्य पु¥याईने र आगामी तीनवर्ष भित्रमा दश हजार शेयर सदस्य संस्था विस्तार गर्ने लक्ष्य रहेको बताए । सांसद पोखरेलले सहकारीले अब कृषि फर्म सञ्चालन गर्न लागेको बताउँदै फर्ममा शेयर सदस्यहरु उत्पादनमा जोडिने दावी गरे ।
साधारणसभा सफलताको शुभकामना दिदै कृषि सहकारी संघ मोरङका अध्यक्ष खगेन्द्र भण्डारीले कृषि क्षेत्रको विकासका लागि कृषकलाई सीप र तालिम दिनुपर्नेमा जोड दिए । उनले सहकारीले कृषि उत्पादनमा पु¥याईरहेको योगदानको मुल्यांकन गर्दै सरकारले प्रोत्साहन गर्नुपर्ने माग गरे । मोरङको कटहरी देखि महादेवसम्मका ७ सय १६ शेयर सदस्य उमा गौरी कृषि सहकारीमा आवद्ध रहेका छन् । उक्त सहकारीको अधिकृत शेयर पूँजी १५ लाख, चुक्ता शेयर पूँँजी ६८ लाख ६५ हजार रहेको संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारले जानकारी दिए । सहकारीले यस वर्ष तीनलाख रुपैया नाफा आर्जन गरेको छ । पाँचौं साधारणसभा सम्म आउँदा १४ लाख रुपैया नाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ ।