२९ मंसिर,विराटनगर / मोरङको झोराहाट नाट्य समूहसँगको सहकार्यमा नेपाल राष्ट्रबैंकले वित्तीय साक्षरता अभियान सुरु गरेको छ ।
अभियानअन्तर्गत नाट्य समूहका कलाकारहरुले मोरङको झोराहाटबाट सडक नाटक सुरु गरेका छन् । आज मोरङको बैजनाथपुरस्थित मिलनचोकमा वित्तीय साक्षरतासम्बन्धी जब आँखा खुल्छ शीर्षकको सडक नाटक मञ्चन गरिएको छ । यसअघि मंगलबार झोराहाटमा पनि उक्त नाटक मञ्चन गरिएको थियो ।
नाटकको राष्ट्रबैंक विराटनगरका प्रमुख रामु पौडेलले उद्घाटन गरे । अब झापा र इलामका विभिन्न स्थानमा उक्त सडक नाटक मञ्चन गरिने कार्यक्रम संयोजक गोकुल अधिकारीले जानकारी दिए । कलाकार भरत गुरागाईंको लेखन तथा निर्देशन रहेको नाटकमा सुदीप कार्की, अनु श्रेष्ठ, सुनिता कट्टेल, निर्मला पौडेल, निराशा ढुंगेल, सुरेज माझी, प्रदीप सरदार, सविन कोइराला, तुलसा लुइँटेललगायतका कलाकारहरुले अभिनय गरेका छन् ।