पूर्वाञ्चल खबर
उपचारका लागि अस्पताल आउने बिरामी तथा आफन्तले पार्किङमा राखेका मोटरसाइकल चोरी हुन थालेपछि अस्पतालको पार्किङ व्यवस्थापन र सुरक्षा निगरानीमाथि गम्भीर प्रश्न उठेको छ।
अस्पताल परिसरमा सवारीसाधन पार्किङका लागि छुट्टै स्थान निर्धारण गरिए पनि उक्त स्थान व्यवस्थित हुन सकेको छैन। अस्पतालको पश्चिमतर्फ रहेको पार्किङस्थलमा इँटाका टुक्रा, गिट्टी तथा निर्माण सामग्री छरपस्ट अवस्थामा छन्। समथर जमिन र उचित व्यवस्थापनको अभावमा मोटरसाइकल पार्किङ गर्नसमेत कठिनाइ हुने गरेको सेवाग्राहीको गुनासो छ।
पार्किङस्थलको दयनीय अवस्थाका कारण बिरामीका आफन्त अस्पताल आसपासका फुटपाथ तथा पूर्वतर्फ ओम शान्ति जाने सडकमा मोटरसाइकल राख्न बाध्य छन्। अव्यवस्थित पार्किङ र कमजोर सुरक्षा निगरानीका कारण सवारीसाधन चोरी हुने जोखिम बढेको स्थानीयको भनाइ छ।
शुक्रबार अस्पताल आएका पत्रकार शम्भु पोखरेलको मोटरसाइकलसमेत अस्पताल आसपासबाटै चोरी भएको छ। स्थानीयका अनुसार पछिल्लो दुई महिनाको अवधिमा एक दर्जनभन्दा बढी साइकल चोरी भइसकेका छन्। पटकपटक चोरीका घटना दोहोरिँदा पनि अस्पताल प्रशासनले प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन नसकेको उनीहरूको आरोप छ।
उदयपुरबाट बिरामीको उपचारका लागि अस्पताल आएका जगत योगीले अस्पतालले तोकेको पार्किङस्थल नै प्रयोग गर्न कठिन रहेको बताए। पार्किङ क्षेत्रमा छरपस्ट रहेका इँटाका टुक्रा र गिट्टीका कारण मोटरसाइकल अड्याउन समस्या हुने गरेको उनको भनाइ छ।
‘अस्पतालले तोकेको पार्किङस्थल अत्यन्तै अव्यवस्थित छ। इँटाका टुक्रा र गिट्टी छरपस्ट भएकाले मोटरसाइकल अड्याउनसमेत समस्या हुन्छ। सामान्य रूपमा स्ट्यान्ड लगाउँदासमेत मोटरसाइकल ढल्ने जोखिम छ,’ योगीले भने, ‘केही दिनअघि पार्किङमा मोटरसाइकल राख्न खोज्दा ढलेर मेरो खुट्टा नै झण्डै भाँचिएको थियो।’
पार्किङस्थल व्यवस्थित नहुँदा सवारीसाधन अन्यत्र राख्नुपर्ने र त्यहाँ पनि सुरक्षाको प्रत्याभूति नहुँदा सेवाग्राही दोहोरो समस्यामा परेको स्थानीय बताउँछन्। अस्पताल परिसरमा पर्याप्त सुरक्षा निगरानी नहुँदा चोरी गर्नेहरूलाई सहज भएको उनीहरूको आशंका छ।
अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामी तथा आफन्तको आवागमन हुने गरे पनि सवारीसाधनको सुरक्षाका लागि आवश्यक निगरानी, व्यवस्थित पार्किङ र चोरी नियन्त्रणका प्रभावकारी उपाय अपनाइएको नदेखिएको स्थानीयको गुनासो छ। करोडौँ रुपैयाँ खर्च गरेर भौतिक संरचना निर्माण गर्ने अस्पतालले सेवाग्राहीको सवारीसाधन सुरक्षाजस्तो आधारभूत विषयमा समेत पर्याप्त ध्यान नदिएको उनीहरूको आरोप छ।
अस्पतालजस्तो संवेदनशील क्षेत्रमा उपचारका लागि आउने नागरिकले बिरामीको उपचारसँगै आफ्ना सवारीसाधनको सुरक्षाको चिन्ता लिनुपर्ने अवस्था आउनु दुःखद भएको स्थानीयको भनाइ छ। उनीहरूले पार्किङस्थल तत्काल सम्याएर व्यवस्थित बनाउन, सीसीटीभी निगरानी तथा सुरक्षा गस्ती बढाउन र चोरीका घटनामा संलग्न व्यक्तिको पहिचान गरी कारबाही गर्न माग गरेका छन्।
न्यूरो अस्पताल परिसर आसपासबाट पटकपटक सवारीसाधन चोरी हुन थालेपछि अस्पताल प्रशासन र सम्बन्धित सुरक्षा निकायले घटनाको गम्भीरतापूर्वक छानबिन गरी सेवाग्राहीलाई सुरक्षित वातावरण उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको छ।