पूर्वाञ्चल खबर

भवनको उद्घाटन गर्दै अध्यक्ष थापा मगरले आफ्नै सुविधासम्पन्न भवन बनेपछि नागरिकलाई सेवा प्रवाह गर्न सहज हुने बताए । यस्तै, गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदारले नयाँ प्रशासनिक भवनबाट सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा उपलब्ध गराइने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयाश भट्टराईले भवन निर्माणको वित्तीय तथा प्राविधिक पक्षबारे जानकारी गराएका थिए । उनका अनुसार संघीय सरकार र स्थानीय सरकारको साझेदारीमा कूल ८ करोड ७६ लाख ४० हजार ६ सय ५३ रुपैयाँ २३ पैसा (मूल्य अभिवृद्धि करसहित) को लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।
भवन निर्माणका लागि ब्राइट ब्लु निर्माण सेवा, धरान–१३ सुनसरीसँग सम्झौता गरिएको थियो । निर्माण व्यवसायीले तोकिएको समयमै काम सम्पन्न गरेको अधिकृत भट्टराईले जानकारी दिए । उनका अनुसार हालसम्म निर्माण कम्पनीलाई ७ करोड ५५ लाख ५ सय ५५ रुपैयाँ १६ पैसा भुक्तानी भइसकेको छ भने बाँकी रकम भुक्तानीको प्रक्रियामा रहेको छ ।
प्रशासकीय भवन केवल भौतिक संरचना मात्र नभई गाउँपालिकाको संस्थागत विकास, प्रशासनिक सुदृढीकरण र सुशासनको यात्रामा महत्त्वपूर्ण उपलब्धि भएको अधिकृत भट्टराईले बताए । नयाँ भवनबाट नागरिकले सुशासनको प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गरिने गाउँपालिकाले जनाएको छ ।