पूर्वाञ्चल खबर
आयोजनाको काम अघि बढाउन जग्गा, सडक र विद्युत्लगायतका समस्या समाधानमा सहजीकरण गर्दै आएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आज निर्माणाधीन संरचनाको निरीक्षण गरेका छन् ।
निर्माण सम्पन्न भई खानेपानी वितरणको तयारीमा रहेको आयोजनाको निरीक्षण गर्दै मेयर कोइरालाले विराटनगरवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने प्रतिबद्धता पूरा हुने चरणमा पुगेको बताएका छन् । आयोजनाको निर्माण सफलतापूर्वक सम्पन्न हुनु र सञ्चालनको तयारीमा पुग्नु खुसीको विषय भएको उनको भनाइ छ ।
जाइकाले विराटनगरमा आयोजना सञ्चालन गर्न स्वीकृति दिए पनि जग्गा व्यवस्थापन, सडक र विद्युत् जडानलगायतका समस्याले काम अघि बढाउन चुनौती सिर्जना गरेका थिए । ती अवरोध हटाउन मेयर कोइरालाले आवश्यक समन्वय र सहजीकरण गरेपछि निर्माणको वातावरण बनेको थियो । महानगरको पहल र सम्बन्धित निकायबीचको समन्वयले आयोजनाको काम दुई वर्षमै सम्पन्न हुने अवस्थामा पुगेको हो ।
मेयर कोइरालाले देवकोटा चोकस्थित नेपाल खानेपानी संस्थानको परिसरमा निर्माण गरिएका संरचनाको निरीक्षण गरेका थिए । त्यसक्रममा आयोजनाका प्राविधिकले पानी उत्पादन, प्रशोधन तथा छान्ने प्रणाली र वितरण संरचनाबारे जानकारी गराएका थिए ।
आयोजनाको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले जानकारी दिए । उनका अनुसार अहिले विद्युत् जडानलगायत केही प्राविधिक काम मात्र बाँकी छन् । ती काम पूरा भएपछि नयाँ प्रणालीबाट खानेपानी वितरण सुरु गरिनेछ ।
आयोजना निर्माणको अवधि सन् २०२६ अक्टोबरसम्म तोकिएको थियो । निर्धारित समयभित्रै काम सम्पन्न गर्ने लक्ष्यसहित अधिकांश निर्माण कार्य पूरा भइसकेको छ । बाँकी प्राविधिक काम सकेर दशैंअघि नै नयाँ प्रणाली सञ्चालनमा ल्याउने तयारी संस्थानले गरेको छ । यही बिहीबार जाइकाले आयोजना खानेपानी संस्थानलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।
दैनिक ९० लाखबाट एक करोड लिटरभन्दा बढी
नयाँ प्रणाली सञ्चालनमा आएपछि विराटनगरको खानेपानी उत्पादन तथा वितरण क्षमता उल्लेख्य रूपमा बढ्नेछ । हाल दैनिक करिब ९० लाख लिटर पानी वितरण हुँदै आएकोमा आयोजना सञ्चालनपछि एक करोड लिटरभन्दा बढी पानी वितरण गर्न सकिने संस्थानले जनाएको छ ।
आयोजनाअन्तर्गत खानेपानी उत्पादन, प्रशोधन र वितरण प्रणालीको क्षमता विस्तार गरिएको छ । पुराना संरचनाको सुधारसँगै नयाँ माथिल्लो पानी ट्यांकी निर्माण, पाइपलाइन विस्तार र विद्युत् आपूर्ति क्षमतामा वृद्धि गरिएको छ ।
विराटनगरका देवकोटा चोक, तीनपैनी, मुनालपथ तथा विराटनगर–५ को कोचाखाल पश्चिममा रहेका संरचनाबाट खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको छ । कोचाखाल पश्चिममा आयोजनाअन्तर्गत नयाँ माथिल्लो पानी ट्यांकी निर्माण गरिएको छ ।
पाइपलाइन र पानी छान्ने प्रणालीको क्षमता विस्तार भएपछि वितरणमा देखिँदै आएका समस्या कम हुने तथा उपभोक्ताले नियमित र गुणस्तरीय खानेपानी पाउने संस्थानको अपेक्षा छ । हाल संस्थानका विराटनगरमा करिब १३ हजार २ सय ग्राहक छन् । नयाँ प्रणाली सञ्चालनमा आएपछि थप उपभोक्तालाई खानेपानीको पहुँचमा ल्याउन र तीव्र रूपमा बढिरहेको जनसंख्याको माग सम्बोधन गर्न सहज हुने संस्थानले जनाएको छ ।
खानेपानीको समस्याबाट मुक्ति पाउने अपेक्षा
विराटनगरमा विगतमा अशुद्ध खानेपानीका कारण जन्डिस फैलिँदा १४ जनाको मृत्युसमेत भएको थियो । त्यसयता सुरक्षित र गुणस्तरीय खानेपानीको विषय महानगरवासीका लागि महत्त्वपूर्ण सरोकार बन्दै आएको छ ।
नयाँ आयोजनाले पानीको उत्पादन र वितरण क्षमता बढाउनुका साथै प्रशोधन प्रणालीलाई समेत व्यवस्थित बनाउने अपेक्षा गरिएको छ । आयोजना सञ्चालनमा आएपछि सुरक्षित खानेपानीको उपलब्धता बढ्ने र वितरणमा देखिँदै आएका समस्या क्रमशः कम हुने विश्वास गरिएको छ ।
आयोजनालाई निर्माणको चरणसम्म पु¥याउन जग्गा, सडक, विद्युत् र अन्य प्राविधिक विषयमा आवश्यक समन्वय गर्दै आएका मेयर कोइरालाका लागि यसको सञ्चालनको तयारी आफ्नै पहलले सार्थकता पाएको महत्त्वपूर्ण उपलब्धि बनेको छ । महानगरको ‘शुद्ध खानेपानीसहितको व्यवस्थित विराटनगर’ निर्माण गर्ने योजनालाई समेत आयोजनाले टेवा पु¥याउने अपेक्षा गरिएको छ ।