पूर्वाञ्चल खबर
विराटनगर १९ मा रहेको खापटोलमा स्थानिय कृषकहरुको समुहले २२ विगाह क्षेत्रफलमा गहँु खेती गरेका छन् । विराटनगर महानगरको गहुँपकेट कार्यक्रम अन्तरगत बरियाली कृषक समुहले खेती गरेका हुन् । समुहमा २५ जना किसानहरु रहेका छन् । विजय जातको गहुँ कृषकहरुले लगाएका छन् । खेतीका लागि विराटनगर महानगरको कृषि शाखाले बिउविजन प्रदान गरेको थियो । यसका अलावा कृषकहरुलाई विभिन्न कृषि औजार र व्यवस्थापनमा महानगरले सहयोग गरेको छ ।
आज कृषकहरुले लगाएको गहुँ खेतीको अनुगमन समेत गरिएको छ । महानगरका मेयर भीम पराजुली, कृषि विज्ञ र कर्मचारी सहितको टोलीले स्थलगत निरिक्षण गरेको हो । कृषकहरुका आवश्यकता र स्रोत साधनको व्यवस्थापन समेतका विषयमा मेयर पराजुलीले जानकारी लिएका थिए । सोही अवसरमा कृषकहरुद्धारा आयोजित छलफलमा समेत मेयर पराजुली सहभागी भएका थिए । कृषकहरुले गहुँ र धान काट्ने आधुनिक कृषि औजार रिपर उपलब्ध गराइदिन माग गरे बमोजिम महानगरले १० लाख दिने भएको छ ।
यसमा कृषकहरुले समेत १० लाख थप गरी २० लाखको लागतमा कृषि औजार खरिद गर्ने भएका छन् ।
विराटनगरको १८ र १९ नम्बर वडामा कृषि गर्न योग्य क्षेत्र रहेका छन् । महानगरले यी दुवै क्षेत्रमा कृषिका कार्यक्रमहरु केन्द्रीत गरेको छ भने कृषकहरुका लागि विभिन्न सेवा दिदै आएको छ ।