पूर्वाञ्चल खबर
कलेजले आयोजना गरेको उक्त दीक्षान्त समारोहमा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई समेत स्वागत गरिएको थियो ।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख इन्द्रकुमार राईले दीक्षित विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको सफलताको शुभकामना व्यक्त गरे । उनले युनिभ कलेजले केवल सैद्धान्तिक ज्ञान मात्र नभई जीवनोपयोगी शिक्षामा जोड दिएको बताए ।
क्याम्पस प्रमुख राईले भने, ‘हामीले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षासँगै देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै आएका छौँ । युनिभ कलेजले विद्यार्थीहरूलाई जीवनोपयोगी शिक्षा प्रदान गरेर स्वरोजगार बन्न समेत प्रेरित गरिरहेको छ ।’
कार्यक्रमका प्रमुख अतिथि डिग्री क्याम्पसका सह–प्राध्यापक तथा पूर्व क्याम्पस प्रमुख डा.मनोज राउतले वर्तमान समयमा रोजगारमुखी शिक्षाको आवश्यकता रहेको चर्चा गरे । उनले युनिभ कलेजले दक्ष जनशक्ति उत्पादनमा खेलेको भूमिकाको प्रशंसा गर्दै शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्नेमा जोड दिए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष राम घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै अध्यक्ष घिमिरेले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न कलेजले कुनै कसर बाँकी नराखेको प्रतिबद्धता व्यक्त गरे ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजको समारोहमा विद्यार्थीहरूले विभिन्न नृत्य तथा गायन प्रस्तुत गरेर मनोरञ्जन समेत प्रदान गरेका थिए ।