AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको बजार गुलजार बनाउन विराट ट्रेड फेयर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ आश्विन २०८३, शुक्रबार ०७:५९
3
Shares
विराटनगर / विराट व्यापार संघको आयोजनामा हुने विराट ट्रेड फेयरको तयारी तीव्र पारिएको छ । आगामी असोज २२ देखि ३० गतेसम्म विराटनगरस्थित जैन भवनमा सञ्चालन हुने फेयरमा एक सय वटा स्टल रहनेछन् ।

दशैंको समयमा विराटनगरको बजारमा चहलपहल बढाउँदै स्थानीय व्यापारलाई चलायमान बनाउने उद्देश्यले ‘विराट ट्रेड फेयर’ आयोजना हुने भएको हो ।

फेयरका सबै स्टल बुकिङ भइसकेको अध्यक्ष प्रमोद अग्रवालले जानकारी दिए । उनका अनुसार उद्योगबाट सिधै उपभोक्तासम्म सामान पुर्‍याउने र भारी छुटमा सामग्री उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको फेयरमा अटोमोबाइल, कपडा, जुत्ता, फर्निचर, टायल, प्लम्बिङलगायतका सामग्रीका साथै स्थानीय उत्पादनलाई समेत प्राथमिकता दिइएको छ ।

ढाका, मह, अचार, भोजपुरे खुकुरीलगायतका स्थानीय उत्पादन फेयरमा राखिनेछन् । खाद्य संस्थानबाट छुट मूल्यमा चिनी, चामल तथा अर्गानिक खाद्य सामग्रीसमेत उपलब्ध हुने आयोजकले जनाएको छ। नेपाली ब्रान्डसँगै भारत, पाकिस्तान र बंगलादेशका उत्पादनसमेत फेयरमा रहनेछन् ।

संघका अध्यक्ष अग्रवालले दशैंका बेला विराटनगरको बजार सुनसान हुने र सीमापार जोगबनीमा किनमेलका लागि जाने प्रवृत्तिलाई केही हदसम्म सम्बोधन गर्न फेयर आयोजना गरिएको बताए । ‘विराटनगरको बजार सुनसान, जोगबनी बजार गुलजार’ भन्ने अवस्था परिवर्तन गर्दै स्थानीय व्यापारलाई चलायमान बनाउन ट्रेड फेयर आयोजना गरेका हौँ,’ अग्रवालले भने, ‘फेयरबाट स्थानीय व्यापारको प्रवद्र्धन हुने अपेक्षा गरेका छौँ ।’

फेयरमा व्यापार तथा किनमेललाई मुख्य प्राथमिकता दिइएको छ । मनोरञ्जनका लागि हरेक दिन साँझ ४ बजेदेखि ८ बजेसम्म नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ। आयोजकले दैनिक करिब १० हजारका दरले १ लाखदेखि १ लाख २५ हजारसम्म दर्शक आउने अपेक्षा गरेको छ ।

फेयरमा दैनिक फरक–फरक स्टलमार्फत उपहार वितरण गरिनेछ । बम्पर उपहारका रूपमा एकजनालाई ईभी स्कुटी तथा अन्य सान्त्वना पुरस्कार दिने तयारी गरिएको छ । बालबालिका तथा विद्यार्थीलाई आकर्षित गर्न पहिलोपटक रोबोट प्रदर्शन र पूर्व क्षेत्रका पर्यटकीय क्षेत्र तथा दुर्गा पूजासँग सम्बन्धित आकर्षक सेल्फी जोनसमेत निर्माण गरिँदैछ ।

फेयरका ७८ वटा स्टल डोमभित्र रहनेछन् भने अटोमोबाइल र खाद्यान्नका स्टल जैन भवनको पुरानो भवनमा राखिनेछन् ।

विराट व्यापार संघले १५ वर्षपछि दोस्रोपटक विराटनगरमा व्यापार मेला आयोजना गर्न लागेको हो। फेयर आयोजनामा विराटनगर महानगरपालिका, कोशी प्रदेश सरकार, उदय परियोजना, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा उद्योग संगठन मोरङलगायतका निकायको सहयोग तथा सहकार्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर