खबर पूर्वाञ्चल
छठ घाटमा पुगेका व्रतालुहरूले साँझ अस्ताउँदो सूर्य लाई अर्घ दिएका हुन् ।
साँझ विराटनगरको सिंघिया, केसलीया, सुनसरी मोरङ सिचाइ आयोजनाका नहरमा छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ दिने कार्य सम्पन्न भएको छ । व्रतालुहरू छठ घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ चढाएपछि घर फर्किएका छन् । अधिकांश व्रतालुहरू रातभर जागराम बसी भजन कीर्तन गर्ने गर्दछन् ।
छठ पर्व रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने गरिन्छ । पछिल्लो समयमा तराई र मधेसी समुदायले मात्र मनाउँदै आएको यो पर्व पहाडी समुदाय लगायत एकै ठाउँमा बसेर भक्तिपूर्वक मनाउन थालेकाले छठ एकताको पर्वको रुपमा अघि बढ्दै गएको छ ।
छठको पूजा सामग्री जलाशयमा लगेर अस्ताउँदो सूर्य र भोली विहान उदाउँदो सूर्यलाई अर्घ दिइन्छ । छठ पर्वमा बाँसको ढक्की, नाङ्लो माटोको कोसिया कुरबार, हातीलगायतको सामग्रीहरु चढाइन्छ । त्यस्तै, प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ । अर्घ दिने व्रतालु ३ दिनसम्म पानी पनि नखाई उपवास बस्ने गर्दछन् । अस्ताउँदो सूर्यलाई अर्घ दिएको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा विधिवत रूपमा सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्रै व्रतालुले व्रत तोड्ने गरेका छन् ।
छठ पूजा गर्ने व्रतालुले कठोर व्रत गर्ने गरेका छन् । छठको पहिलो दिन नहाई खाइपछि दोस्रो दिन खरना विधिअन्तर्गत रस्याउ रोटी खाएका व्रतालुले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिनु अघि निराहार व्रत गर्ने गरेका छन् ।