पूर्वाञ्चल खबर
प्रदेश १ –०२– ००१ ख ८६७७ नम्बरको ट्रकमा लोड गरी बन्दा कोपी बोकेर हिँडेको ट्रक भित्र सशस्त्र प्रहरी बल बेओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगर र इलाका प्रहरी कार्यालय रानीलेले शुक्रवार राती गाँजा बरामद गरेको हो ।
प्रहरीले बन्दा कोपी बोकेर ल्याएको मिनी ट्रकबाट ६ बोरा गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए । बरामद गरेको गाँजा १५६ केजी रहेको छ । मिनी ट्रकभित्र ४६ बोरा बन्द कोपी रहेको छ । माथिबाट बन्दा कोपी र मुनि गाँजा हालेर भारत लैजाने क्रममा प्रहरीले मिनी ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरीले ट्रक चालक धनकुटा सहिद भूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राईलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । सङ्खुवासभाबाट बन्दा कोपी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा लोड गरेर भारततर्फ लैजाने क्रममा सशस्त्र प्रहरीले विराटनगर – १५ रानीस्थित २ नं. डाढबाट बरामद गरेको हो । गाँजा बरामद गरेको ट्रकले पुरानो विराटनगर भन्सार कार्यालय अगाडीको २ नं. ढाटमा ठक्कर दिएको थियो । ‘विशेष सूचनाको आधारमा कोपी बोकेको ट्रकलाई सशस्त्र प्रहरीले फलो गर्दै आएको थियो ।
जोगवनीतर्फ जाने नाकाबाट गाडी प्रवेश गर्न खोजेपछि २ नम्बर ढाटमा पुगेपछि गाडीले ठक्कर दियो,’ एसपी लामिछानेले भने, ‘डियुटिमा खटिएका सशस्त्र प्रहरीले चालक र गाडी तत्काल नियन्त्रणमा लिएर बेओपी रानी विराटनगरमा लगेर गाडी खोल्दा गाँजा भेटिएको छ ।’
गाँजा तस्करी धन्दा चलाउने गिरोहले प्रहरीले पत्तो नपाहोस भनेर तरकारी मुनी गाँजा हालेर लैजान लागेको पत्तो प्रहरीले पाएको छ । ‘प्रहरीलाई झुक्क्याउन तस्करी धन्दामा लागेका गिरोहले अनेक जुक्ति लगाउने गर्दछन्,’ अनुसन्धानमा खटिएका प्रहरीले भने, ‘तरकारी बोकेको गाडीमा हालेर गाँजा तस्करी भएको जानकारी पाएपछि पछ्याउँदै नेपाल भारतको बोर्डर नजिकबाट समात्न सफल भएका छौँ ।’